संविधान दिवसको अवसरमा प्रभातफेरी र परिसंवाद कार्यक्रम, ठाउँ ठाउँमा दिपावली

Devghat Online

शेयर गरौ

दमौली, असोज ३

संविधान दिवसको अवसरमा विहिबार विहान दमौलीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरियो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा गठन गरिएको संविधान दिवस मुल समारोह समितिको आयोजनामा विहान दमौलीको अनसनचोकबाट प्रभातफेरीको आयोजना गरिएको थियो ।

प्रभातफेरीमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा कार्यकर्ता, सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी तथा उद्योगी व्यापारी एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा रहेको थियो । प्रभातफेरीमा सहभागीहरुले आ आफ्नो संस्थागत व्यानर र राष्ट्रिय झण्डा समेत लिएका थिए । प्रभातफेरी अनसनचोकबाट सुरु भई विभिन्न चोक हुँदै पुनः अनसनचोकमा आएको थियो । प्रभातफेरी पश्चात दमौली अस्तपालका विरामीहरुलाई फलफुल वितरण समेत गरिएको थियो ।

यसैगरि संविधान दिवसको अवसरमा मुल समारोह समितिको आयोजनामा विहिबा दिउँसो जिल्ला समन्वय समितिको समिक्षा हलमा संविधानको महत्वको बारेमा परिसंवाद कार्यक्रम आयोजना गरिएको थियो ।

परिसंवाद कार्यक्रममा बोल्ने वक्ताहरुले धेरै ठुलो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानको सफल कार्यान्वयन हुनु पर्ने बताएका छन् । विशेषगरि संविधानमा भएको प्रावधानहरुको कारण राजनीतिक अस्थिरताले निरन्तरता पाउँदै गएको अवस्थामा ति प्रावधानहरुको संशोधन मार्फत देशमा राजनीतिक स्थिरता मार्फत दिगो आर्थिक विकास र शुशासन कायम गर्नुपर्ने उनीहरुको भनाई थियो ।

संविधान दिवस मुल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संविधानसभाका सदस्य रामचन्द्र पोख्रेल, गन्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, गन्डकी प्रदेशका पुर्व मन्त्री डोवाटे विक, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, पुर्व प्रदेश सांसद सरिता गुरुङ, नेकपा एमालेका केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठ लगायतले संविधानको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

संविधान दिवसको अवसरमा विभिन्न संघ संस्थाको आयोजना दिप प्रज्वलन तथा सरकारी तथा गैरसरकारी कार्यालयमा साँझ दिपावली समेत गरिएको थियो ।

संविधान दिवस जिल्लाका सबै स्थानीय तहमा विभिन्न कार्यक्रम आयोजना गरिने मनाइएको छ । सरकारले संविधान जारी भएको दिन असोज ३ लाई राष्ट्रिय दिवसको अवसरमा समेत मनाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू