प्रभावकारी बन्दै म्याग्देको एकिकृत घुम्ति शिविर

Devghat Online

शेयर गरौ

दमौली, असोज ९

म्याग्दे गाँउपालिकाले गत असोज ६ गते देखि सन्चालन गरेको एकिकृत घुम्ती शिविर प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाबाट प्रदान गरिने सबै खाले सेवा टोल टोलबाटै पाएपछि वडाबासीहरु पनि निकै सन्तुष्ट बनेका छन् ।

वडा नम्बर १ की सेवाग्राही भिममाया थापाले आफ्नै टोलमा आई सेवा प्रदान गर्दा निकै खुसी लागेको बताइन् । ‘गाउँपालिकामा जानु पर्दा दिनभरको समय जान्थ्यो, अहिले आफ्नै घर आँगनबाट सेवा पाईयो’ उनले भनिन् ‘हामी जस्ता कृषकलाई शिविरले धेरै राहत दिएको छ ।’ अर्की सेवाग्राही सीता श्रेष्ठले भने घुम्ती शिविरबाट तरकारको बिउ तथा अन्य प्राविधिक सेवाहरु पाएको बताइन् ।

गाउँ कार्यपालिकाको कार्यालयको पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई एकिकृत रुपमा स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गरि सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पु¥याउने उद्देश्यले एकिकृत घुम्ति शिविर गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

उक्त एकिकृत घुम्ति शिविर बुधबारसम्म वडा नम्बर १ र २ मा सम्पन्न भईसकेको छ । अव असोज १० गते विहिबार रविचन्द्र प्रावि किलचोकमा हुनेछ भने १३ गते आइतबार कोलडाँडा स्वास्थ्य भवन र गैह्रा गणेश माविमा हुनेछ । त्यस्तै असोज १४ गते छम्लिस्वाराँ कालिका मोई समुहको भवनमा हुनेछ भने साउनेपानी र वोटेनीटारमा सोज १६ गते शिविर संचालन हुनेछ । असोज २० गते वडा नं ७ को समिधारा स्वास्थ्य केन्द्र भवनमा हुनेछ भने असोज २१ गते तिल्याटार सामुदायिक भवनमा हुनेछ । त्यसैगरि कार्तिक ८ गते सर्वलाङ, रत्न मावि मनपाङ्ग र तिलाहारमा हुने शिविर कार्तिक ९ गते गाँउश्वारा र अकला सामुदायिक भवनमा सेवा दिएपश्चात समापन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

शिविरमा स्वास्थ्य तर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एक्सरे सहित, क्षयरोग स्क्रिनिङ, सामान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ सेवा, स्तन क्यान्सर परिक्षण सेवा दिईनेछ । यस्तै कृषि तर्फ मागको आधारमा विपन्न लक्षित कार्यक्रम, ५० प्रतिशतको अनुदानमा कृषि प्रविधि हस्तान्तरण, टनेल निर्माणकालागि ७५ प्रतिशत अनुदान प्रदान, फलफुल बगैंचा कार्यक्रम, कृषि मेसिनरी सम्बन्धि तालिम र माटो परिक्षण शिविर तथा कृषि सम्बन्धी परामर्श समेत प्रदान गरिनेछ ।

त्यस्तै पशु सेवा तर्फ पशु स्वास्थ्य परिक्षण, उपचार र परामर्श सेवा प्रदान गरिनेछ । जसमा विरामी पशुपन्छीहरुको स्वास्थ्य परिक्षण तथा उपचार, बोका तथा बहरको बन्ध्याकरण, पशु बस्तुको गोवर परिक्षण, पशुपन्छीजन्य औषधी वितरण, घरपालुवा कुकुर र बिरालोलाई रेविज विरुद्धको खोप कार्यक्रम, पशुपन्छी पालन व्यवस्था सम्बन्धि परामर्श र बार्षिक कार्यक्रमबारे जानकारी दिइनेछ ।

यसैगरि पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु दिईनेछ भने उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईने पालिकाका प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए । शिविरसम्म आउन नसक्ने अपाङ्गता भएका र जेष्ठ नागरिक सेवाग्राहीलाई उनीहरुकै घरमा पुगेर पनि आवश्यक सेवा दिईएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू