देवघाट, असोज १२
त्रिशुली र कालिगन्डकी नदीमा आएको भिषण बाढीको कारण देवघाटका धार्मिक, शैक्षिक र भौतिक संरचनाहरु चपेटामा परेका छन् । विहिबार रातीदेखी आएको वर्षाको कारण देवघाट गाउँपालिका हुँदै बग्ने त्रिशुली र कालिगन्डकी नदीमा आएको बाढीले ठुलो क्षती पुर्याएको छ ।
कालिगन्डकी नदीमा आएको बाढीले देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित साँढेबगरमा रहेको महादेव आधारभुत विद्यालय डुबानमा परेको छ । विद्यालय भवन बाढीले डुबाएको कारण विद्यालयको सबै काजगात नष्ट भएको विद्यालयका प्रअ शिवहरी वाग्लेले बताए ।
यसैगरि त्रिशुली नदीमा आएको बाढीले चितवन र देवघाट जोड्ने दासढुङ्गाको पुल जोखिममा परेको छ । त्रिशुलीमा पानीको सतह अत्याधिक बढेपछि शनिबार दिउँसो बाढीले पुल नाघेर बगेको थियो । केही घन्टा उक्त पुलमा आवतजावत बन्द समेत गरिएको थियो । त्यसैगरि चितवनको १७ किलोबाट देवघाट–५ को बगन्दी जाने झोलुङ्गे पुल पनि त्रिशुली नदीमा आएको बाढीले क्षती पुगेको छ ।
यस्तै त्रिशुली नदीको बाढीले गलेश्वर आश्रम समेत जोखिममा परेको छ । गलेश्वर आश्रमको नदी तर्फको केही भाग नदीले बगाएको छ । यसैगरि त्रिशुली र कालीगन्डकी नदीमा आएको बाढीले देवघाट स्थित बेणी संगममा रहेका मठ मन्दिर, कुटी र चितवन तर्फ रहेको धर्मशाला डुबानमा परेको छ ।