चितवन, असोज १२
अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज शनिबार राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सुचना प्रकाशन गरि रातीको समयमा नारयणगढ–मुग्लिन सडकमा सवारी साधन चलाउन रोक लगाएको हो ।



आइतबारसम्म मनसुन सक्रिय रही देशका विभिन्न भागमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेको र विगत दुई दिनदेखिको अविरल वर्षाका कारण चितवन जिल्ला भित्रका विभिन्न स्थानहरु डुवानमा परेको तथा जिल्ला भई वहने नदी तथा खोलाहरुमा जल सतहले खतराको तह पार गरेको र नदी तथा खोलाहरुको वहाव अझै बढ्न सक्ने सम्भावना रहेको हुँदा अत्यावश्यक काम परेमा बाहेक नदी तटीय क्षेत्रमा आवतजावत नगर्न तथा अन्य क्रियाकलाप नगर्न नगराउनु हुन अनुरोध जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।

नारायणगढ–मुग्लिङ–नागढुङ्गा सडकखण्ड पहिरोको जोखीम कायमै रहेको हुँदा हाललाई रातीको समयमा उक्त सडक खण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएकोले सम्पूर्ण सवारी धनी एवम् यात्रु महानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिनुहुन तथा यात्रा नगरी यथास्थानमै बसी सुरक्षित रहनुहुन अनुरोध गर्दै चितवन प्रशासनले शुक्रबार काठमाडौंतर्फ जान हिँडेका सवारी साधनहरु मौसम प्रतिकूलताका कारण आइतबारसम्म आँपटारीमै रोकिनु पर्ने अवस्था भएकोले सबै यात्रुहरुमा धैर्यधारण गरि बसिदिनु हुन अनुरोध गरिएको छ ।
साथै सडकको अवस्थाका विषयमा जानकारी लिनुपरेमा नजिकको प्रहरी कार्यालय एवम् ट्राफिक प्रहरीको हटलाईन १०३ मा सम्पर्क गरी जानकारी लिनुहुन समेत चितवन प्रशासनले अनुरोध गरेको छ । विपदजन्य कुनै घटना घटेमा नजिकको प्रहरी कार्यालय एवम् जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, चितवनको सम्पर्क नं. ९८४४२०८८८८, ९८४५२८९२२६, ९८४९२२७६३७ तथा जिल्ला प्रशासन कार्यालय, चितवन, सहायक प्रमुख जिल्ला अधिकारी, श्री चिरञ्जीवी शर्मा (९८५५०८८८९१) लाई खबर गर्नुहुन समेत अनुरोध गरेको छ ।
गत असार २८ गते राति यही सडकखण्डको सिमलतालमा रातिमा पहिरोले बस बगाउँदा ६२ जनाको मृत्यु भएको थियो ।












