व्यास नपाका बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन रास्वपाको माग

Devghat Online

शेयर गरौ

दमौली, असोज १८

राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिले हालैको बाढी पहिरोबाट भएको क्षतीको मुल्यांकन गरि पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ ।

रास्वपा व्यास नगर समितिले शक्रबार व्यास नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै बाढि पीडितलाई राहत उपलब्ध गराउन माग गरेको हो । मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी गर्दा समेत विपद् व्यवस्थापनमा राज्यको पूर्वतयारी कमजोरीका कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले पुनः केहि दिन पानी पर्ने सुचना जारी गरेको र दशै लगायतका मुख्य चाडवाडहरु नजिकिँदै गइरहेको अवस्थामा सम्भावित विपदको पूर्व तयारीका साथै निश्पक्ष राहात वितरण गर्न र वजारको सु–व्यवस्था कायम राख्न माग गरेको छ ।

विभिन्न मितिमा आएको वाढिको कारण व्यास नगरपालिकाको विभिन्न वडामा हुन गएको क्षतिको मुल्याङ्कन गरी निष्पक्ष रुपमा राहात उपलव्ध गराउन र विभिन्न वडामा बाढीपहिरोले सडक क्षतिग्रस्त भै आवत जावतमा समस्या भएको हुँदा तत्काल सडक मर्मत गरी दशैंमा सहज आवागमनको व्यवस्था मिलाउन पनि रास्वपाले माग गरेको छ ।

अभाव, अप्ठ्यारो अवस्था र चाडबाडको बेलामा चोरी डकैती तथा अपराधिक घटना धेरै बढ्ने भएको हुँदा सुरक्षा व्यवस्था तथा चाडपर्व लक्षित घटना नियन्त्रण गर्न पूर्वतयारी अवस्थामा रहन रास्वपाले ध्यानाआकर्षण गराएको छ ।

चाडपर्व नजिकीदै गरेको अवसर पारेर दैनिक उपभोग्य सामानको बजारमा कृत्रिम अभाव श्रृजना गरिएको, कालो बजारले प्रसय पाएको, भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्याउने प्रयास गरिएको, मुल्यसूचि स्पष्ट नराखिएको, चाडपर्वको मौका छोपी चरम मूल्यवृद्धि गरिएको, बिल बिजक जारी नभएको वस्तु तथा सेवाको ग्यारेन्टी वारेण्टीको प्रत्याभूति नगरिएको लगायतका विषयमा अभिलम्ब अनुगमनलाई तीव्रता दिई व्यवसायीलाई आंतकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न यथाशिघ्र र प्रभावकारी कदम चाल्न पनि व्यास नगपालिकाको ध्यानाकर्षण गराइएको छ ।

उक्त ज्ञापनपत्र रास्वपा व्यास नपाका सभापती चुणामणी दाहालले व्यास नगरपालिकाकी उपमेयर इन्दिरा दरैलाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू