देवघाट, असोज १९
देवघाट गाउँपालिकामा विभिन्न क्षेत्रमा हुने बिकृती, अनियमितता, भ्रष्टाचार तथा ढिलासुस्तीको विरुद्ध साझा संयन्त्र गठन गरिएको छ । शनिबार देवघाट–५ स्थित सिटी हलमा बृहत भेलाको आयोजना गरि देवघाट सामाजिक संयन्त्र गठन गरिएको छ । संयन्त्रमा देवघाटमा क्रियाशिल राजनीतिक दलमा आवद्ध युवाहरु रहेका छन् ।
समितिको अध्यक्षमा नेपाली काँग्रेसका अर्जुन अधिकारी चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका शान श्रेष्ठ, सचिवमा राष्ट्रिय स्वतन्त्र पार्टीका बलबहादुर क्षेत्री र कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रका दुर्गालाल गुरुङ चयन भएका छन् । त्यसैगरि समितिको सदस्यहरुमा सोमनाथ ढकाल, शुकलाल गुरुङ, डिल्लीराम गिरी, विवेक बोगोटी र विकास ढकाल चयन भएका छन् ।
उक्त भेलालाई सम्बोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले भ्रष्टाचार, ढिलासुस्ती, अनियमिततामा विना पुर्वाग्राह खबरदारी गर्नुपर्ने बताए । जनताबाट खबरदारी भएमा मात्रै स्थानीय सरकार पनि सचेत बन्न सक्ने अध्यक्ष थापाले बताए । उनले साझा संयन्त्रले पहिचान गरेको विषयमा गाउँपालिका सहकार्य गर्न तयार रहेको बताए ।
बलबहादुर क्षेत्रीको अध्यक्षतामा भएको उक्त भेलामा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन शान श्रेष्ठले, कार्यक्रमको उद्देश्य र विषयबस्तुमाथी प्रकाश अर्जुन अधिकारीले र स्वागत दुर्गालाल गुरुङले गरेका थिए ।
नवगठित देवघाट साझा संयन्त्रले स्थानीय सरकार, राजनीतिक दल, सहकारी, विभिन्न व्यवसाय, सामुदायीक वन लगायतका क्षेत्रमा हुने भ्रष्टाचार, अनियमितता तथा बिकृतीको आवाज उठाउने र खबरदारी गर्ने अध्यक्ष अधिकारीले बताए ।