दमौली, असोज ३०
६९ औं प्रहरी दिवसका अवसरमा तनहुँमा विभिन्न समयमा सहादत प्राप्त गरेका अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार आयोजना गरेको कार्यक्रममा कर्तव्य पालनका क्रममा दिवङ्गत भएका प्रहरीका परिवारलाई सम्मान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो क्रममा २० जना अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । सम्मान गर्नु अघि अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरिएको थियो । सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले, दुर्घटना न्यूनीकरण, विपद् व्यवस्थापन, शान्तिसुरक्षा कायम र अपराध नियन्त्रणमा प्रहरीको भूमिका उच्च रहँदै आएको बताए । उनले समुदाय र प्रहरीको सहकार्यले मात्रै विकृति, विसङ्गति अन्त्य गर्न सकिने बताए ।
प्रहरी उपरिक्षक बिरेन्द्रबहादुर शाहीले जनताको जिउ धनको सुरक्षाकोलागि प्रहरीले चौबिसै घन्टा काम गर्ने बताए । प्रहरी र नागरिकको सम्बन्ध नङ र मासुको जस्तो रहेको भन्दै प्रहरी उपरिक्षक शाहीले यही सम्बन्धले जनताको जिउ धनको सुरक्षा गर्न प्रहरीलाई सफलता मिलेको बताए ।
कार्यक्रममा अमर प्रहरी र पूर्व प्रहरीका परिवारले उनीहरुका सन्तानलाई प्रदान गरिने सेवा सुविधा काम भएको गुनासो गरेका थिए । अमर प्रहरी परिवारकी सदस्य पार्वती केसीले प्रहरीले अमर प्रहरी र पूर्व प्रहरीका सन्तानहरुलाई नेपाल प्रहरीले प्रदान गर्ने सेवासुविधा कम भएकाले थप्नुपर्ने बताइन् । उक्त कार्यक्रममा पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारीले पनि प्रहरीको भुमिकाको बारेमा मन्तव्य राखेका थिए ।