धार्मिक आस्थाको केन्द्र बन्दै थानीमाई मन्दिर

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ६

तनहुँको भानु नगरपालिका–७ बसन्तपुर स्थित थानीमाई मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

उक्त मन्दिरमा प्रत्येक वर्ष कार्तिकको मंगलबार भक्तजनले फूलको डोली चढाउने गर्दछन् । कार्तिकको पहिलो मंगलबार थानीमाईमा भक्तजनको ठुलो उपस्थिती रहेको थियो । प्रत्येक मंगलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको मन्दिर संरक्षण समितिका अध्यक्ष जिवन थापाको भनाइ छ । मन्दिरमा रातभर जाग्राम बसेर बत्ती बाल्ने प्रचलन छ ।

मन्दिर संरक्षण समितिका अध्यक्ष थापाका अनुसार तनहुँका अलवा चितवन, गोरखा, लमजुङ, नवलपुर, काठमाडौंलगायतका जिल्लाबाट भक्तजन यहाँ आउने गरेका छन् । भक्तजनको बाक्लो आगमनले मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा विकास हुँदै गएको थापाले बताए । सोमबार राती सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र मंगलबार थानीमाई मन्दिरमा डोली चढाउने परम्परा छ । उक्त मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । भक्तजनहरू फूलको डोली र पञ्चैवाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई ३ फन्का घुमाएर बाँध्ने गरिन्छ ।

विसं १८२५ देखि उक्त मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीयवासी बताउँछन् । वि.सं १८२५ मा मन्दिर भएको ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती छ । सोही समयदेखि उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासी बताउँछन् ।

समुद्र सतहबाट एक हजार २ सय मिटर उचाइमा अवस्थित उक्त मन्दिर भानु नगरपालिका वडा नम्बर ७ स्थित डाँडाथुम्कामा रहेको छ । सामुद्रीक सतहबाट करिव १२ सय मिटरको उचाइमा छ यो मन्दिर । थानीमाइ मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङ्टार, राइनसकोट, आँपपिपल, धमिलिकुवा, पश्चिमतर्फ माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमशृंखला, उत्तरमा गणेश हिमाल लगायतका निकै सुन्दर हिमाली दृश्यहरु देख्न सकिन्छ । उच्च भाग भएको हुँदा यहाँबाट फाउदी खोला, आदिकवि भानुभक्तको जन्मस्थान भएर बग्ने नागवेली बगेको चुँदी खोला, तनहुँको अग्लो चुचुरो छिम्केश्वरी, दोस्रो अग्लो चचुरो एवं पर्यटकीय क्षेत्र मिर्लुङकोट, तनहुँसुर दरवार र लमजुङको राईनसकोट लगायत गगनचुम्बी पहाडहरू मज्जाले हेर्न सकिन्छ ।

वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त १४ लाख रुपैयाँ र मन्दिरको भेटीबाट संकलित छ लाख रुपैयाँको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो । थानीमाई मन्दिर वरपर ब्राम्हण, क्षत्री, मगर, नेवार, दमाई, कामी, सार्की मुस्लीम धर्मालम्बीहरुको बाहुल्यता पाइन्छ । मुस्लिमहरुको मस्जिद पनि नजिकै रहेको छ । धार्मिक पर्यटनका प्रचुर सम्भावना बोकेको भए पनि प्रचारप्रसारको अभावमा मन्दिर पछाडि परेको थानीमाई मन्दिर व्यवस्थापन तथा संरक्षण समितीका सचिव हर्क थापामगरले वताए ।

जनश्रुतीअनुसार झण्डै ४ सय बर्षअघि लेक (भोट) बाट एक भोटिनी र उनकी छोरी जडिबुटीहरू बेच्दै बसन्तपुर गाउँमा आए । साँझपख गाउँमा बास माग्दा गाँउलेहरूले दिएनन् । केही टुनामुना लाउन सक्ने डरले गाउँलेहरुले बास दन इन्कार गरेका थिए । कहिँ पनि बाँस नपाएपछि उनीहरु डाँडामा रहेको एउटा कटुस –स्थानीय भाषामा सिमतारा) को बोटमा आश्रय लिन पुगे । चैत्र महिनाको समय थियो, त्यतिबेला । त्यही कटुसको बोटमुनि बास बस्ने क्रममा राति अन्धाधुन्द असिना पानीसहित ठूलो हावाहुरी चल्यो । आमाछोरीको त्यहीँ मृत्यु भयो । त्यहीे दिनदेखी त्यस गाउँमा भाँडभैलो मच्चिन थाल्यो । भूतले तर्साउने, विभिन्न दैविप्रकोप प्राकृतिक प्रकोपले सताउन थाल्यो । बाघले सताउने र रातभरि सुत्न नदिने अवस्था आयो । स्थानीय जमलसिंह पाटामगरलाई राती सपनामा तिनै भोटिनी थानीमाईको रुप लिएर त्यही स्थानमा बसेको र उनीहरुको पूजाआजा गरेर फूल चढाए दुःख दिन छाड्ने सन्देश आएपछि पूजाआर्चन गर्न थालियो । देवीले भने बमोजिम नै सोमवार राती सत्यनारायणको पूजा लगाई मंगलबार चोखोनितो सहित फूलको डोली चढाउने गरिएको स्थानीय बताउँछन् । अहिले पनि मन्दिरभित्र ती आमाछोरीको मुर्तिमा पूजा गरिन्छ । हरेक बर्ष कार्तिकको पहिलो मंगलबार स्थानियहरुको घर घरबाट अक्षता र फूलपाती ल्याएर चढाएपछि मात्र अन्यहरुका लागि मन्दिरमा फूलको डोली चढाउन दिने चलन छ ।

डुम्रे–बेसिशहर जाने राजमार्गको बाइसजाँगर बाट ८ किलोमिटर उत्तर–पश्चिमतर्फको कच्ची सडक पार गरेपछि थानीमाई मन्दिर पुग्न सकिन्छ । यो बाटो अहिलेको मुल चलनचल्तीको सडक हो । यसअघि हिडेर नै फूलको डोलीसहित थानीमाई दर्शनका लागि जानुपर्दथ्यो । यस्तै डुम्रे बेसिशहर सडकखण्डको अर्चलधारासम्म पिच सडक र अर्चलधाराबाट लौडारी भज्याङ हुँदै करिव १६ किलोमिटरसम्मको कच्ची सडकबाट पनि थानीमाई मन्दिर पुग्न सकिन्छ । त्यसैगरि डुम्रे भन्सार हुँदै चुँदी टुहुरेपसल र चन्द्रावतीबाट अलग अलग कच्ची सडकबाट ६ किलोमिटर पार गरेपछि थानीमाई दर्शनका लागि जान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू