देवघाटमा ८० जना डेंगु संक्रमण

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १०

देवघाट गाउँपालिकामा पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार शनिबार सम्म देवघाट गाउँपालिकामा ८० जना डेंगु संक्रमित भएका छन् । गत सातासम्म ६३ जना डेंगु संक्रमित भएको देवघाटमा संक्रमितको संख्या बढेर ८० पुगेको हो ।

स्वास्थ्य कार्यालय तनहुँका अनुसार कार्तिक १० गतेसम्म तनहुँमा डेंगु संक्रमितको संख्या ४७०२ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार तनहुँमा सबैभन्दा धेरै व्यास नगरपालिकामा १७१५ जना संक्रमति रहेका छन् । त्यसपछि आबुँखैरेनी गाउँपालिकामा १६४९ जनामा डेंगु संक्रमण रहेको छ ।

त्यस्तै शुक्लागन्डकी नपामा ८२० जना, बन्दिपुर गाउँपालिकामा १८५ जना र देवघाट गाउँपालिका ८० जनामा डेंगु संक्रमण भएको छ । यस्तै म्याग्दे गाउँपालिकामा ४५, भानु नपामा ४४, घिरिङ गाउँपालिकामा ६ र ऋषिङ मा ४ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ ।

कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।

डेंगु मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् । धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा भने डेंगु संक्रणले जटिल अवस्था आउन सक्छ ।

निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा