देवघाटधाम गन्डकी परिक्रमा महोत्सव सफल बनाउन चितवनमा बैठक

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २१

आगामी कार्तिक २९ गते हुने देवघाटधाम गन्डकी परिक्रमा महोत्सव–२०८१ सफल बनाउन बुधबार चितवनमा बैठक आयोजना गरिएको छ । नेपाल सन्त समाजको आह्वानमा बुधबाार गौरेश्वर मन्दिर नारयणगढ र लक्ष्मिनारयण मन्दिर देवघाट चितवनमा बैठक आयोजना गरिएको थियो ।

उक्त बैठकले देवघाटधाम गन्डकी परिक्रमा कार्यक्रमलाई राष्ट्रव्यापी बनाउन प्रचार प्रसारलाई विशेष बनाउने, परिक्रमा कार्यक्रममा सहभागिता बढाउन चितवन, तनहूँ र नवलपुरका सबै धार्मिक एवम् सामाजिक संघ संस्थालाई परिचालन गर्ने, गणेशधाम क्षेत्र, बसेनी दुर्गा मन्दिर, गुम्बा र लक्ष्मीनारायण मन्दिर पोखरा बसपार्कलाई परिक्रमा मार्गमा समावेश गर्ने निर्णय भएको महेश संस्कृत गुरुकुल देवघाटका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरि स्वास्थ्य, सुरक्षा र फोहर मैला व्यवस्थापनका निम्ति छुट्टाछुट्टै मोबाइल टोली परिचालन गर्ने, महोत्सवलाई पूर्ण आध्यात्मिक बनाउन विभिन्न सम्प्रदायका झाँकी र सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गर्ने तथा देवघाटधाम र गण्डकीको दुर्लभ महत्वबारे मुख्य मुख्य चोकहरुमा विज्ञहरुबाट प्रवचन गरिने निर्णय भएको पौडेलले जानकारी दिए ।

देवघाटधाम क्षेत्रको धार्मिक पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले नेपाल सन्त समाजको आह्वानमा आगामी कार्तिक २९ गते देवघाटधाम गन्डकी परिक्रमा महोत्सव–२०८१ हुने भएको छ । मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तिर्थस्थल देवघाटधाम र गन्डकीको संगमको पुर्ण पावन उर्जा प्राप्त गर्ने तथा संसारकै दुर्लभ तिर्थ देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई सम्बद्र्धन गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत रहेका सन्त माहात्माहरुको अगुवाईमा आगामी कार्तिक २९ गते कार्तिक शुक्ल बैकुण्ठ चतुर्दशीको दिन देवघाटधाम गन्डकी परिक्रमा महोत्सव आयोजना गरिएको हो ।

कार्तिक २९ गते बिहान ७ बजे देवघाटधामको बेणी संगमबाट सुरु हुने उक्त गन्डकी परिक्रमा अन्तर्गत तनहुँ तर्फ पशुपतीनाथ मन्दिर, गंगा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पान्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर) को परिक्रमा गरिनेछ ।

यस्तै चितवन तर्फ देवघाट बसपार्कको संकल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारयण मन्दिर, सिताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरीनाथ गौशाला बागेश्वरी मन्दिर, आपँटारी दियालो बंगाल चोक, गणेशधाम क्षेत्र, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखराबसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ ।

यसैगरि नवलपुर तर्फ गैडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिब्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको महेश संस्कृत गुरुकुल देवघाटका प्रधानाचार्य पौडेलले जानकारी दिए ।

उक्त महोत्सवमा देवघाटधामको पुर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगततीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारयणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमा गर्दै बैदिक सनातन धर्म र संस्कृतीको प्रबद्र्धन र प्रचार प्रसारको मुख्य कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू