जाडो बढेपनि पनि तनहुँमा रोकिएन डेंगु सङ्क्रमण

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ५

जाडो मौसम सुरु भए पनि तनहुँमा डेंगु सङ्क्रमण रोकिएको छैन । डेंगुको सङ्क्रमण दश वटै पालिकामा फैलिइसकेको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लामा बुधबारसम्म ५ हजार १८० जनामा डेंगुको सङक्रमण पुष्टि भइसकेको छ ।

डेंगुबाट सहरी क्षेत्र बढी प्रभावित भएको छ । डेंगुको सङ्क्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषले भदौमा ज्यान गुमाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

सङ्क्रमण बढेसँगै अस्पतालहरूमा विरामीको चाप बढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकामा सङ्क्रमण फैलिएको छ ।

व्यासमा दुई हजार ४५ जनामा सङ्क्रमण भएको छ । त्यसपछि आँबुखैरेनी गाउँ पालिकामा धेरै विरामीमा छन् । आँबुमा एक हजार सात सय ३७ जना बिरामी भएका छन् । शुक्लागण्डकी नगरपालिकामा आठ सय ७९ जना बिरामी भएका छन् ।

बन्दीपुर गाउँपालिकामा एक सय ८९ जना र भिमाद नगरपालिकामा ९८ जनामा सङ्क्रमण भएको छ । भानु नगरपालिकामा ४८, म्याग्दे गाउँपालिकामा ४५ जनामा सङ्क्रमण भएको छ । ऋषिङ गाउँपालिकामा पाँच, घिरिङ गाउँपालिकामा छ, देवघाट गाउँपालिका ८९ जनामा सङ्क्रमण भएको छ ।

अन्य जिल्ला घर भइ तनहुँमा बसोबास गर्ने ३० जनामा सङ्क्रमण भएको छ । लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘‘खोजौँ र नष्ट गरौँ’’ भन्ने नारासहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । सङ्क्रमण तीव्र गतिमा फैलिएपछि रेडक्रसले समेत डेंगु रोगविरुद्धको अभियान गरिरहेको छ ।

जोगिनका लागि सुत्ने समयमा झुलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । डेंगुको सङ्क्रमण एडिज जातिको लामखुट्टेबाट मात्र फैलिने, सफा पानीमा फुल पार्ने, लार्भा हुर्काउने भएकाले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाई नष्ट गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु डेंगुको लक्षण हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू