चितवन, मंसिर १८
सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि चितवन ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ ।
मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ साढे ४ बजे स्थगित गरिएको सरकारी वकिल कार्यालय चितवनका न्यायधिवक्ता शान्तिराज लुँइटेलले जानकारी दिए । ‘आजको बयान साँझ साढे ४ बजेसम्म गरेर स्थगित भयो। भोलि कार्यालय समय सुरु भएपछि पुनः सुरु हुन्छ’–उनले भने । पहिलो दिन प्रारम्भिक प्रश्न मात्र गरिएको न्याधिवक्ता लुँइटेलले जानकारी बताए।
‘अहिले हामी प्रारम्भिक प्रश्नमा मात्र छौँ’, उनले भने ‘भोलि गहिराइमा गएर बयान लिन्छौँ ।’ उनका अनुसार लामिछानेसँग लिखित बयान लिइएको छ । सरकारी वकिल र अनुसन्धान अधिकृतले संयुक्त बयान लिएका छन् । सकेसम्म भोली बयान सक्ने तयारी भएको उनले बताए ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाण्डौँबाट आज मंगलबार बिहान चितवन ल्याइएको थियो । प्रहरीले उनलाई विमानस्थलबाट प्रहरी कार्यालय लगेर बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको थियो ।
लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ । साहारा सहकारीमा ६ हजार ३३४ बचत कर्ता छन् । त्यसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४४६ जनाले सो रकमको माग सहित उजुरी दिएका थिए । साहाराको सफ्टवेयरमा हेर्दा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ पैसा हिनामिना भएको देखिन्छ । गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार शङ्कास्पद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसअघि असोज ८ गते साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ । यसअघि बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो । उनलाई चितवन ल्याइने भएपछि सुरक्षा चुनौती हुने देखेपछि प्रहरी प्रमुख एसपी मिश्रले कुन उडानमार्फत लामिछानेलाई चितवन ल्याइने भन्ने जानकारी सार्वजनिक गरेका थिएनन् ।
साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हब इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो । रविलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय लैजाने क्रममा रविका समर्थकले भरतपुरमा प्रदर्शन गरेका थिए ।