देवघाटको भर्जन कालिका मन्दिरमा विशेष पुजा सम्पन्न, विभिन्न खेल प्रतियोगिता आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर ३०

हरेक वर्ष धान्य पुर्णिमाको दिन विशेष पुजा हुने देवघाट गाउँपालिका–५ पिपलटार स्थित भर्जन कालिका मन्दिरमा आइतबार विशेष पुजा सम्पन्न भएको छ । उक्त मन्दिरमा वि.स.२००६ साल देखी हरेक वर्ष धान्य पुर्णिमाको दिन विशेष पुजा गर्ने गरिदै आएको मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।

धेरै पुरानो मन्दिर भएपनि निकै जिर्ण अवस्थाको उक्त मन्दिर हाल पुननिर्माणको क्रममा रहेको छ । देवघाटका प्राय संरचनाहरु पक्की र व्यवस्थित हुँदै गएपनि निकै पुरानो यस मन्दिर जिर्ण अवस्थामा रहेको हुँदा स्थानीय बासिन्दा र संघ संस्थाको सहयोगमा पक्की संरचना निर्माण गरिएको अध्यक्ष न्यौपानेले बताए ।

न्यौपानेका अनुसार गत आर्थिक वर्षको लेखापरिक्षण अनुसार मन्दिर निर्माणकोलागि २१ लाख खर्च भएको र अझै करिब ४० लाख खर्च हुने अनुमान गरिएको छ । जस मध्ये अधिकांश रकम देवघाटका सामुदायिक वन, संघ संस्था र दाताहरुबाट संकलन गरिएको छ । उक्त मन्दिर देवघाटको पुरानो र ऐतिहाँसिक मन्दिर रहेको हुँदा मन्दिरको निर्माण पश्चात धार्मिक पर्यटक भित्र्याउन सकिने भन्दै न्यौपानेले मन्दिर निर्माणकोलागि सहयोग गर्न अनुरोध गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले यस मन्दिर प्रति धेरै जनाको आशा र विश्वास रहेको हुँदा मन्दिर निर्माण कार्यकोलागि गाउँपालिकाबाट आवश्यक बजेट बिनियोजन गर्ने बताए । आफ्नै कार्यकालमा मन्दिर निर्माण गरिसक्न आवश्यक रकम बिनियोजन गर्ने अध्यक्ष थापाले प्रतिबद्धता जनाए ।

उक्त अवसरमा पन्चेवाजाद्वारा अतिथी र भक्तजनलाई स्वागत गरिएको थियो । सो अवसरमा मन्दिर परिसरमा आयोजित खेल मैदानमा विभिन्न खेलकुँदका कार्यक्रमहरु समेत गरिएको थियो । भर्जन कालिका युवा क्लवको आयोजनामा भएको सेभेन ए साईड फुटबल प्रतियोगितामा आयोजकको दुबै टिम क्रमशः ए र बी नै प्रथम र दोश्रो भएका छन् । आयोजक ए ले आयोजक बी लाई २–० गोल अन्तरले पराजित गरेको थियो । फुटवल प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

त्यस्तै मधुवन र रानीवन सामुदायिक वनको सहभागिता रहेको महिला र पुरुष तर्फको डोरी तान्ने प्रतियोगितामा दुबै समुहमा रानीवन सामुदायिक वन समुह प्रथम भए । त्यस्तै घैटो फुटाइ प्रतियोगितामा मा श्रीधर न्यौपाने प्रथम भएका थिए भने हाँस समाउने खेलमा गिता मगरले हास समाएर प्रथम भएकी थिइन् । त्यस्तै छेलो फाल्ने खेलमा खुम बहादुर गुरुङ प्रथम भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले