दमौली, पुस १०
म्याग्दे गाउँपालिका जैविक कृषि मल उत्पादन र बजारिकरण परियोजना सन्चालन भईरहेको छ । गन्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवपर्तन साझेदारी कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिकामा गत असोज महिनादेखी उक्त परियोजना सन्चालन भइरहेको छ ।
स्थानीय सुशासन, सेवा प्रवाह, आर्थिक विकासका क्षेत्रमा नवप्रवर्तनको माध्यमबाट नविनमत सोच र सिर्जनशिलता प्रबद्र्धन गर्ने उद्धेश्यले गन्डकी प्रदेश सरकारले लागु गरेको मुख्यमन्त्री नवप्रबर्तन साझेदारी कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिकामा आगामी २०८२ जेठ मसान्तसम्म जैविक कृषि विकासकालागि नवप्रवर्तनशिल मल उत्पादन र बजारिकरण परियोजना सन्चालन हुनेछ । उक्त परियोजना गत असोज पहिलोसाताबाट सन्चालनमा आईसकेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
लागत साझेदारीमा सन्चालन भइरहेको उक्त परियोजनाको कुल बजेट १ करोड २४ लाख हुनेछ । उक्त बजेट मध्ये म्याग्दे गाउँपालिकाले २५ लाख २४ हजार रुपैयाँ साझेदारी गर्नेछ भने बाँकी ७५ लाख रुपैयाँ परियोजना अन्तर्गत मुख्यमन्त्री कार्यालयबाट प्राप्त हुनेछ । उक्त परियोजनाबाट म्याग्दे गाउँपालिकाका ५ सय घरपरिवारका १४ सय नागरिक लाभान्वित हुने लक्ष्य लिईएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उक्त परियोजनाको समाप्तीपछि म्याग्दे गाउँपालिकाका कृषकहरुले जैविक कृषि विकासकालागि नवप्रवर्तनशिल मल उत्पादन र बजारिकरणमा लाभ लिने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उक्त परियोजना समाप्तीपछि यसले जलवायु परिवर्तनको असरबाट पर्ने असरलाई न्युनिकरण हुने अध्यक्ष श्रेष्ठले बताए ।