दमौली, पुस १३
गैर सरकारी संस्था महासंघ जिल्ला शाखा तनहुँको आयोजनामा आबुँखैरेनी गाउँपालिकाका जनप्रतिनिधिहरुकोलागि जलवायु उत्थानशील कार्य सुदृढिकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार गाउँपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा बोल्दै आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न गाउँपालिकाले जलवायुमैत्री विकास निर्माण र संरचनाहरु निर्माण गर्ने बताए । मानव जिवनको रक्षाकोलागि जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्नुपर्ने भन्दै अध्यक्ष चुमानले यसका असरलाई न्युनिकरणकालागि जलवायुमैत्री कानुन र संरचना बनाउनु पर्ने बताए । उनले जलवायु परिवर्तनको विषय अहिले विश्वव्यापी रुपमा र सबैभन्दा बढि चासो र छलफलको विषय भएको बताए ।
उक्त कार्यक्रममा नगरपालिकाका गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरुले जलवायु परिवर्तनले समुदायमा परेको असरहरुको बारेमा धारणा राखेका थिए ।
उक्त कार्यक्रममा गैसस महासंघ तनहुँकी सचिव सरिता भण्डारीले जलवायु उत्थानशील विकासको बारेमा सहजिकरण प्रस्तुत गरेकी थिइन् । उक्त अवसरमा जलवायु परिवर्तनको कारण, जलवायु परिवर्तनले पारेको असर र प्रभाव तथा जलवायु अनुकुलताको उत्थानशील अभ्यासहरुको बारेमा छलफल भएको थियो । सो कार्यक्रमको सन्चालन गैसस महासंघ तनहुँका सदस्य कविराज श्रेष्ठले गरेका थिए ।