बन्दीपुर, माघ ३
तनहुँको बन्दीपुर गाउँपालिकामा यही माघ ५ ६ र ७ गते विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । उक्त राष्ट्रपति रनिङ शिल्ड–२०८१ को तयारी तीव्र पारिएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगिता बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित टुंडिखेलमा सञ्चालन हुनेछ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको संयोजकत्वमा हुन लागेको कार्यक्रममा बन्दीपुर गाउँपालिकाभित्रका नौवटै माध्यमिक विद्यालयले भाग लिने भएको शाखा प्रमुख भिम प्रसाद लामिछानेले जानकारी दिए ।
प्रतियोगितामा सामुदायिक तर्फ बिष्णु मावि, पवित्रा मावि, भानु मावि, शिव मावि, कालिका मावि र अरुण मावि तथा संस्थागत तर्फ दीपशिखा, मनास्लु र नोट्र डेम सहित ३ गरी नौवटा माध्यमिक विद्यालयले भाग लिनेछन् ।
यस पटक शाखा प्रमुख भिम प्रसाद लामिछानेको नेतृत्वमा जिल्लामै नयाँ अभ्यास सुरु गर्न लागिएको छ । जस अनुसार उद्घाटन समारोहमा संस्थागत विद्यालयका स्कुल बसले बन्दीपुर बजारदेखि टाढा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरु लिएर आउने समेत संस्थागत विद्यालयका प्रतिनिधिले निर्णय गरेका छन ।
जस अनुसार दीपशिखा माविको बसले अरुण माविको विद्यार्थीहरु, मनास्लु माविले बिष्णु मावि र शिव माविको विद्यार्थीहरू र सामुदायिक विद्यालय पवित्रा माविले कालिका माविको विद्यार्थीहरूलाई यातायात सुविधा दिने भएको छन् ।