दमौली, माघ १२
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण तिब्र गतिमा भईरहेको छ । मुग्लिन–पोखरा सडक खण्डको व्यास नगरपालिका–४ र ५ को चापाघाट जोड्ने मादी नदीमाथि गत वर्षबाट पुल निर्माण थालिएको थियो ।
पुलको हालसम्म करिब ५८ प्रतिशत भौतिक प्रगति भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजना पुर्वी खन्डले जनाएको छ । आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले हालसम्म ५८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । पुल निर्माण सुरु भएसँगै हालको सडक डिभिजन कार्यालय विस्थापित हुने भएको छ ।
उक्त पुलमा ६ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआईष्ट अन्नक जेभीले पाएका छन् । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ ।
हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुल भन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ । आगामी माघ महिना भित्र पुल निर्माण सम्पन्न भएर सन्चालन आउने मुग्लिन–पोखरा सडक विस्तार आयोजना पुर्वी खन्डका इन्जिनियर पाण्डेले दावी गरे छ ।