देवघाट, माघ १५
देवघाट गाउँपालिकाका ६४८ जना किशोरीलाई एचपिभि खोप लगाइने भएको छ । आगामी माघ २२ देखी २५ गतेसम्म देवघाटका कक्षा ६ देखी १० सम्म विद्यालयमा अध्ययन गर्ने ६४८ तथा विद्यालय नजाने १० देखी १४ वर्ष उमेर सम्मका ९ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने एचपिभी खोप लगाईने भएको छ ।
उक्त खोप कार्यक्रमको सबै तयारी पुरा भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताए । यसकोलागि सबै स्वास्थ्यकर्मीलाई अभिमुखीकरकण कार्यक्रम समपन्न भईसकेको बुढाथोकीले जानकारी दिए ।
देवघाट गाउँपालिकाका ५ वटा वडाका १७ वटा खोप केन्द्रमा कक्षा ६ मा अध्ययन गर्ने १३० जना तथा कक्षा ७ देखी १० सम्म अध्ययन गर्ने ५१८ जना गरि ६४८ जना किशोरीलाई एचपिभि खोप लगाइने बुढाथोकीले बताए । त्यस्तै विद्यालय नजाने ९ जना किशोरीलाई नजिकैको स्वास्थ्य संस्थामा उक्त खोप लगाइने छ । उक्त कार्यकोलागि १७ जना स्वास्थ्यकर्मी र ३४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने बुढाथोकीले बताए ।
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँमा विद्यालय जाने १० देखी १४ वर्ष उमेर सम्मका किशोरीको संख्या १४ हजार ७८ र विद्यालय नजाने उक्त उमेर समुहका २ सय जनालाई उक्त खोप लगाइने भएको छ ।
नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने, त्यसमध्ये १ हजार ३१३ जनाको उक्त रोगको कारण मृत्यु हुने गर्छ । हरेक दिन ४ जना महिलाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेपछि सरकारले १० देखी १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने नीति ल्याएको हो ।