देवघाट, माघ १५
देवघाटमा जारी देवघाट महा–महोत्सवको तर्फबाट चितवनको वागीश्वरीमा रहेको योगी नरहरीनाथ गौं संरक्षण केन्द्र तथा गुरुकुललाई खाद्यान्न प्रदान गरिएको छ । महा–महोत्सवमा संकलित खाद्यान्नहरु देवघाट वरपरका गुरुकुल तथा गौशालाहरुलाई उपलब्ध गराउने नीति अनुसार मंगलबार पहिलो पटक योगीनरहरीनाथ गौं संरक्षण केन्द्र तथा गुरुकुललाई खाद्यान्न उपलब्ध गराइएको हो ।
महा–महोत्सव मूल समारोह समिति संयोजक डा.केशव भुर्तेल तथा सल्लाहकार डा. श्रीवास कृष्ण दास ब्रह्मचारीले लगायतले गौं संरक्षण केन्द्रका संयोजक नवराज ढकाल र पदाधिकारीहरुलाई उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए । विशेषगरि गुरुकुलमा अध्ययनरत बटुकहरुको लागि ठुलो परिमाणमा चालम, तरकारी, तेल, आँटा लगायत खाद्यान्न तथा संरिक्षत गाईहरुकोलागि पनि खाद्यन्न उपलब्ध गराईएको महा–महोत्सवका सल्लाहकार डा. श्रीवास कृष्ण दास ब्रह्मचारीले जानकारी गराए ।
उनले माघ १५ गते महा–महोत्सवको आधा दिन सकिएको हुँदा अव क्रमशः हरेक दिन देवघाट क्षेत्रका अन्य गुरुकुल र गौशालाहरुलाई खाद्यान्न उपलब्ध गराईने बताए । साथै महा–महोत्सव समापन पछि पनि उक्त गौशालालाई खाद्यान्न उपलब्ध गराउने उनले जानकारी दिए । उक्त अवसरमा डा. श्रीवास कृष्ण दास ब्रह्मचारीले स्थानीय प्रजातीका गाईहरु सनातनीहरुकोलागि पुज्य रहेको बताए । गाईको संरक्षण गर्न पाउनु गौरवको विषय भएको हुँदा देवघाट आउने हरेकले वागीश्वरीमा रहेको गौशालामा पसेर गौ सेवा गरेर जानुपर्ने उनले बताए ।
महा–महोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराजले महोत्सवमा संकलित खाद्यान्नहरु गुरुकुल र गौशालालाई उपलब्ध गराउने यस अघि नै जानकारी गराएका थिए । गौं संरक्षण केन्द्रका संयोजक नवराज ढकालले महा–महोत्सवको तर्फबाट उपलब्ध गराईएको खाद्यान्नले गुरुकुल तथा गौ संरक्षण केन्द्रलाई ठुलो सहयोग पुग्ने बताए । ढकालले महा–महोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराज तथा संयोजक एवं सल्लाहाकारहरु प्रति आभार व्यक्त गरे ।