देवघाट, माघ ३०
देवघाटधाममा गत माघ १ गतेदेखी जारी देवघाट महा–महोत्सव समापन भएको छ । विश्व जागरण महाअभियान ट्रष्ट चितवनको आयोजनामा भएको सो महा–महोत्सवको बुधवार भएको समापन कार्यक्रममा गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले सम्बोधन गरेका थिए ।
उक्त अवसरमा बोल्दै महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराजले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धनकोलागि देवघाट महा–महोत्सव सफल भएको बताए । देवघाट देशकै महत्वपुर्ण धार्मिक तिर्थस्थल भएको हुँदा यस ठाउँमा यज्ञ यज्ञादी पर्व आयोजना भईरहनुपर्ने उनले बताए । यो महा–महोत्सव हुन नदिन केही व्यक्ति तथा संस्थाले आफुलाई पनि दवाव दिएको भन्दै महामण्डलेश्वर गिरीले तर आफु महा–महोत्सव हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।
विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक एवं लोकप्रिय भागवत कथावाचक इश्वरकृष्ण महाराजले यो भक्तहरुको अपार माया, स्नेह र सहयोगले एक महिना बितेको पत्तो नभएको बताए । महा–महोत्सवबाट संकलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणकोलागि खर्च हुने उनले बताए । देवघाटधाममा यस्ता यज्ञका कार्यहरु हरेक महिना हुनुपर्ने भन्दै उनले अव भविष्यमा हुने कार्यक्रममा आफ्नो र आफ्नो संस्थाको तर्फबाट आवश्यक सहयोग हुने विश्वास दिलाए ।
विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक एवं लोकप्रिय भागवत कथावाचक इश्वरकृष्ण महाराजको संकल्पमा तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माणाधिन ३६५ कोठाका मातापिता सेवा आश्रमको पुर्णता र सोही स्थानमा देवघाट दिव्यधाम निर्माण गर्न रकम संकलन गर्ने उद्देश्यले देवघा महा–महोत्सव आयोजना गरिएको थियो ।
उक्त महा–महोत्सव २५ लाख भन्दा बढि भक्तजनले प्रतक्ष्य अवलोकन गरेको र २० करोड भन्दा बढि रकम संकलन भएको बताईएको छ । महा–महोत्सवको आम्दानी खर्च जतिसक्दो चाँडो पत्रकार सम्मेलन गरि सार्वजानिक गरिने आयोजकले जनाएको छ ।
इश्वरकृष्ण महाराजको सत्संकल्पमा ३६५ कोठाहरूको संरचनासहित वृद्धवृद्धा र असहायहरूको लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले देवघाट गाउँपालिका–५ तनहुँमा मातापिता सेवाश्रम निर्माणाधीन छ । यो परियोजनाले देवघाट क्षेत्रलाई धार्मिक, सांस्कृतिक र सामाजिक सेवाको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने महत्वाकांक्षालाई अघि बढाएको छ ।
देवघाट महा–महोत्सवको ३० दिन दैनिक रुपमा विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । संघीय सरकारका मन्त्री, बाग्मती तथा गन्डकी प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलका सभापती देखी बरिष्ठ नेताहरु, प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरु, विभिन्न उच्च पदस्थ प्रशासक तथा व्यक्तिहरु, चर्चित धर्मगुरुहरु, चलचित्रका नायक, नायिका, गायक, गायिकाहरु तथा देशबिदेशबाट लाखौंको संख्यामा भक्तजनहरुको उपस्थिती रहेको थियो ।
उक्त महा–महोत्सवमा विश्वप्रसिद्ध कथा वाचिका देवी प्रतिभा, विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डे, लोकप्रिय कथा वाचक ओमप्रकाश सुवेदी, यसोदा माता लगायत लोकप्रिय कथावाचकहरुले भागवत कथा वाचन गरेका थिए ।
यसैविच देवघाटधाममा आगामी माघ महिनामा नेपालमै पहिलो पटक लक्ष्य चण्डी यज्ञ हुने भएको छ । देवघाट स्थित गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजको संकल्पमा २०८२ माघ महिनाभर लक्ष्यचण्डी यज्ञ गर्न लागिएको बुधबार देवघाट महा–महोत्सवको समापनको क्रममा महामण्डलेश्वर गिरीले जानकारी गराए । यस प्रकारको लक्ष्य चण्डी यज्ञ नेपालमै पहिलो पटक हुने महामण्डलेश्वर गिरीले बताए । उक्त लक्ष्यचण्डी यज्ञ पवित्र कालिगण्डकी र त्रिशुलीनदीको संगममा हुनेछ ।