तनहुँ । फागुन २१
तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाको व्यापारिक केन्द्र, तनहुँको डुम्रे बजारमा चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईको आयोजनामा भएको उक्त महोत्सव भानु नगरपालिका–१ पुल्चोकमा आयोजना गरिएको हो ।
‘व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा’ भन्ने नारासहित सञ्चालन भएको उक्त महोत्सवको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री खड्काले सरकार थोरै समयमा धेरै काम गर्न आतुर रहेको बताए । सरकारको छिटो काम गर्नुपर्ने हुटहुटीको कारण अध्यादेश ल्याउनुपरेको मन्त्री खड्काले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई पटक पटक आफुहरुसँग समय थोरै रहेको र विश्वका अन्य देश भन्दा निकै पछि परेको हुँदा अन्य कामलाई थाँती राखेर देशको विकासमा लाग्न निर्देशन दिनुभएको मन्त्री खड्काले बताए ।
उर्जाको आन्तरिक खपत र बाह्य देशमा विक्री गरेर देशबाट भएको आम्दानीले देश विकासमा लगाउने योजना रहेको मन्त्री खड्काले बताए । जलविद्युत आयोजनाको विकासले देशमा रोजगारी बढ्ने र विकास पनि हुने उनले बताए । देश समृद्धीको बाटोमा अगाडी बढेको भन्दै मन्त्री खड्काले यस्ता मेला र महोत्वसले आन्तरिक पर्यटन तथा आन्तरिक रोजगारको पनि बृद्धि हुने बताए ।
उक्त कार्यक्रममा राष्ट्रिय सभाकी सत्तापक्षकी मुख्य सचेतक भगवती न्यौपानेले देश विगतको भन्दा अहिले समृद्धीको बाटोमा धेरै अगाडी बढेको बताइन् । दुई ठुला पार्टीको गठबन्धनले अस्थिरता र अराजकताको अन्त्य हुने सांसद न्यौपानेले बताइन् ।
तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं महोत्सवका निर्देशक घनश्याम देवान लगायतले मन्तव्य राखेका थिए ।
महोत्सव चैत्र ३ गतेसम्म चल्नेछ । बजारमा व्यापार घट्दै जाँदा व्यावसायी पलायन हुने क्रम बढेको, किसानले उत्पादन गरेको समान बिक्री गर्न समस्या परेको तथा होमस्टेको प्रचारप्रसार नहुँदा पाहुना बढाउन नसकिएकाले महोत्सवको आयोजना गरिएको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए ।
हुने महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्धनमा योगदान पु¥याउने उद्देश्य राखिएको प्रवक्ता अधिकारीले बताए । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्थल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा व्यापारिक एवम् सेवामूलक उद्देश्यका १२५ वटा स्टल राखिएका छन् । जसमा स्थानीय रैथाने सामग्री र कृषि उत्पादन, शैक्षिक तथा विज्ञान प्रदर्शनीलाई निःशुल्क स्टलको व्यवस्था गरिएको महोत्सव मुल समारोह समितिका संयोजक हेमलाल भिकेले जानकारी दिए । महोत्सव अवधीभर ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ४ करोडको कारोबार हुने अनुमान गरिएको महोत्सवका प्रवक्ता अधिकारीले बताए ।