तनहुँ । चैत ३
उच्च अदालत पोखराले दमौलीको आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचन सम्बन्धि परेको रिटमा अस्पष्ट आदेश दिएपछि चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन अनिश्चित बनेको छ । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन सम्बन्धी निर्देशिकाको उल्लंघन गर्दै आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन प्रबन्ध समितिले उम्मेदबारी दर्ताको समय थप गरेको हुँदा निर्धारित समयभित्र उम्मेदबारी दर्ता गर्ने अनेरास्ववियुका उम्मेदबारलाई सर्वसम्मत भएको घोषणा गर्न माग गर्दै अनेरास्ववियुका उम्मेदबारहरुले शुक्रबार उच्च अदालत पोखरमा दर्ता गरेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश दिन अस्विकार गरेको र स्ववियुको निर्वाचनको बारेमा केही नबोलेको हुँदा निर्वाचन अनिश्चित भएको छ ।




अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश नदिएको र निर्वाचन सम्बन्धि सम्पुर्ण सक्कल कागजात लिएर १५ दिन अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ । उच्च अदालतको उक्त आदेशलाई दुई फरक फरक व्याख्या र विश्लेषण भईरहेको छ । नेपाली काँग्रेस निकट केही कानुन व्यवसायीहरुले उच्च अदालतको आदेशले स्ववियु निर्वाचन गर्न कुनै बाधा नपर्ने व्याख्या गरेका छन् भने नेकपा एमाले निकट कानुन व्यवसायीहरुले १५ दिन भित्र निर्वाचन सम्बन्धी हालसम्मको सक्कल कागजात मागेपछि निर्वाचन प्रक्रिया जहाँको तही रोकी अदालतले मागेको कागजात बुझाउनुपर्ने बताएका छन् । १५ दिनपछि अदालतको आदेश जे आउँछ, सोही अनुसार अगाडी बढ्नुपर्ने एमाले निकट कानुन व्यवसायीहरुको धारणा छ ।

आफुहरुले निर्वाचन स्थगित गरि सर्वसम्मत निर्वाचित भएको घोषणा गर्न माग गर्दै अदालतमा निबेदन दिएको हुँदा अदालतको आदेश नआउँदासम्म अव आफुहरु स्ववियु निर्वाचन सम्बन्धी कुनैपनि प्रक्रियामा भाग नलिने अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष आशिष पौडेल र स्ववियु निर्वाचनका सभापती उम्मेदबार सविन लामिछानेले अदालतको आदेश नआउँदासम्म निर्वाचन गर्न नपाईने र आफुहरु निर्वाचन सम्बन्धि कुनैपनि पक्रियामा भाग नलिने बताए ।












