तनहुँ । चैत ६
तनहुँको बन्दीपुर गाउँपालिका–१, रिमाल्नीमा यातायात व्यवस्था कार्यालय डुम्रे स्थापनाका लागि स्थानीय परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् । स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालय भवन निर्माणका लागि पृथ्वी राजमार्ग नजिकैको चलन चल्तिको मूल्य अनुसार २ करोड भन्दा बढि पर्ने जग्गा दान गरेका हुन् ।



मंगलबार जिल्ला मालपोत कार्यालय, तनहुँमा अधिकारी परिवारले यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीलाई लालपुर्जा हस्तान्तरण गरेका हुन् । यसअघि पनि अधिकारी दम्पतीले बन्दीपुर गाउँपालिका वडा नम्बर १ को कार्यालय भवन निर्माणका लागि पनि जग्गा दान गरेका थिए ।

जग्गा दान गर्नु आफ्नो लागि गौरवको कुरा भएको जग्गा दान दिने अधिकारीले बताए । उनले आफ्नो गाउँ र समाजको सेवाका लागि यो कदम चाल्न पाउँदा खुशी ब्यक्त गरे । अमुल्य जग्गा यातायात कार्यलयलाई दिएकोमा खुशी व्यक्त गर्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले उनलाई सम्मान गरिने बताएका छन् ।

नयाँ स्थानमा कार्यालय स्थापनाका लागि छिट्टै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी मन्त्रालयसँग बजेट माग गरिने यातायात व्यवस्था कार्यालय डुम्रेका कार्यलय प्रमुख गोपाल ओलीले बताए । उनले भने, ‘हाल कार्यालय भाडामा सञ्चालन गर्दा खर्च अत्यधिक भइरहेको छ। अस्थायी भवन निर्माण गरेर भए पनि चाँडै नयाँ स्थानमा सेवा दिन सुरु गर्ने योजना छ ।’ डुम्रेमा रहेको कार्यालयबाट तनहुँ, लमजुङ, गोर्खा, मनाङ, चितवन, धादिङ लगायतका जिल्लाका सेवाग्राही लाभान्वित हुँदै आएका छन् ।












