तनहुँ । चैत १६
राजाबादी समुहहरुले शुक्रबार काठमाडौको तीनकुनेमा गरेको प्रर्दशनको क्रममा भएको आगजनीबाट एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक जलेर निधनको घटनाप्रति नेपाल पत्रकार महासंघ तनहुँ शाखाले भत्र्सना गरेको छ ।



महासंघ तनहुँ शाखाले शनिबार विज्ञप्ति प्रकाशित गरि उक्त घटनाको भत्र्सतन गर्दै घटनाले स्तब्ध भएको जनाएको छ । जनताका सूचनाका पहरेदार एक जुझारु सञ्चारकर्मीले जिउँदै जलेर ज्यान गुमाउनुपर्ने अवस्था आउनु र आन्दोलनका नाममा उच्छृङ्खल समूहबाट सञ्चारगृहमाथि आक्रमण हुनु दुःखद र निन्दनीय भएको महासंघ तनहुँले जनाएको छ ।

‘मुलुकको सङ्घीय व्यवस्थामाथि नै प्रहार गर्ने गरी सञ्चारगृह र सञ्चारकर्मीमाथि भएका यस्ता हर्कतको महासंघ तनहुँ शाखा भत्र्सना गर्दछ, साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौ’ महासंघका सचिव कृष्णचन्द्र न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यस दुःखद घडिमा दिवङ्गत पत्रकार सुरेश रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ ।’

यस्तै नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार चैत १७ गते आइतबार पत्रकारहरुलाई कालोपट्टि बाँधेर काम गर्न आव्हान गरेबमोजिम जिल्लाका पत्रकारहरुले पनि सोही बमोजिम कालोपट्टि बाँधेर काम गर्न तनहुँ शाखाले अनुरोध गरेको छ ।












