तनहुँ । बैशाख १८
१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहिबार तनहुँमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । ‘परिपुर्ण लोकतान्त्रिक गणतन्त्रको निरन्तरता श्रमजीवीबर्गको सम्मान, समृद्धि र सिर्जनशिलता’ भन्ने राष्ट्रिय नाराका साथ नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र नेपाल ट्रेड युनियन काँग्रेस लगायतका संघ संस्थाले मे दिवस विभिन्न कार्यक्रम गरि मनाएका थिए ।



नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा दमौलीमा ¥याली तथा नेपाली काँग्रेस तनहुँको कार्यालयमा गई सभा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री प्रदिप पौडेल, नेपाली काँग्रेस तनहुँका उपसभापती राजेन्द्र कृष्ण श्रेष्ठ लगायतले मजदुर आन्दोलनको उपलब्धीको चर्चा गरेका थिए ।
यसैगरि नेपाल ट्रेड युनियन महासंघ जिफन्टको आयोजनामा व्यास नपा ४ सिमलटार स्थित स्वरोजगार निर्माण समितिको कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । जिफन्टका कार्यवहाक अध्यक्ष अर्जुन सुनारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज केदार सिग्देल, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेंल, क्युपेक नेपालका केन्द्रीय उपमहासचिव सोम आले, स्वरोजगार निर्माण समितिका केन्द्रीय सदस्य चन्द्रा घले, स्वरोजगार निर्माण समिति तनहुँका अध्यक्ष सागर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रम जिफन्ट तनहुँका सचिव नविन थापाले गरेका थिए ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको थियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन थालेका हुन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।