देवघाट । जेठ २२
कालीगन्डकी नदी तथा कालीगन्डकी सभ्यताको संरक्षणकोलागि विहिबारदेखी सुरु भएको कालिगन्डकी पदयात्राको टोली पहिलो दिन नवलपुरको भोक्रेनी पुगेको छ । उक्त टोली २० किलोमिटरको यात्रा गर्दै भोक्रेनी पुगेको हो । टोलीलाई विभिन्न स्थानमा स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए ।




पदयात्रा देवघाटमा रहेको त्रिशुली र कालीगन्डकी नदीको संगम वेणीबाट विहिबार विहान ७.३० बजे सुरु भएको थियो । देवघाटस्थित महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, महेश सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी रमणानन्द गिरी र नेपाल सन्त समाजका महासचिव प्रा.डा. गुरुप्रसाद सुवेदीलगायतले गण्डकी पूजा गरी यात्राको शुभारम्भ गरेका थिए ।

दामोदर हिमशृङ्खलाबाट प्रवाहित भएको पवित्र हिमनदी कालीगन्डकी नदी र कालीगन्डकी सभ्यताको संरक्षणकोको लागि महेश सन्यास आश्रम देवघाटको समन्वयमा विहिबारबाट ४३१ किलोमिटर दुरीको कालीगन्डकी पदयात्रा सुरु गरिएको पदयात्राका संयोजक तथा देवघाट स्थित महेश संस्कृत गुरुकुलमका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले बताए ।

पदयात्रा अन्तर्गत बुधबार साँझ वेणी संगममा गन्डकी पुजन र विशेष आरती गरिएको थियो । उक्त पुजनमा गलेश्वर आश्रमका पिठाधिस महामन्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरि, हरिहर आश्रमका पिठाधिस एवं नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनान्द गिरी, महेश सन्यास आश्रमका पिठाधिस डा.रमणानन्द गिरि लगायत सन्त महन्तहरुको उपस्थिति थियो ।

उक्त पदयात्रामा नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताहरू सहभागी छन् । पदयात्रा देवघाटधामबाट दामोदरकुण्डसम्म पुग्ने छ । देवघाटधामबाट सुरु भएको पदयात्रा दामोदर कुण्डमा पुगेर समापन हुनेछ । पदयात्रा ४३१ किलोमिटर र २२० मिटर सामुद्रिक सतहदेखि ४९९० मिटर उचाइसम्म हुनेछ । पदयात्रा २२ देखि २५ दिन सम्म हुनेछ । कालीगण्डकी किनारको कालीगण्डकी करिडोर र शालिग्राम करिडोर हुदै यात्रा गरिने पौडेलले बताए ।

यात्रामा दैनिक आठ घण्टा तथा २० किलोमिटरसम्म यात्रा गरिने जनाइएको छ । नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा गुरुप्रसाद सुवेदीले कालीगण्डकीको महिमा जनमानसमा पुर्याउने यात्राको उद्देश्य भएको बताए । गण्डकीको किनारमा भएका विभिन्न धार्मिक स्थलहरुका संरक्षण एवं प्रवर्द्धनमा यात्राले सहयोग पुग्ने उनको भनाई छ । जीवन जिउने आधार प्राकृतिक स्रोत सम्पदा भएको उल्लेख गर्दै नदीलगायतको संरक्षणमा सबै जुट्नुपर्ने उनले बताए।
उक्त पदयात्रामा कालीगण्डकीको महत्व र उपयोगिताको प्रचार–प्रसार गरिने, शालग्राम र गण्डकीतीर्थहरूको दर्शन पूजन, कालीगण्डकी सभ्यताको संरक्षण, धार्मिक एवं प्राकृतिक पर्यटनको प्रवद्र्धन तथा आध्यात्मिक साधनाको निरन्तरता मुख्य उद्देश्य हुनेछ ।

कालीगन्डकी नदी संसारभरका सनातनीहरूको आस्थाको केन्द्र र देवनदीका रूपमा प्रसिद्ध छ । यिनै नदीमा उत्पन्न भएका दुर्लभ शालग्राम विश्वभरका हिन्दु सनातनीहरूले प्रत्यक्ष देवताका रूपमा पूजा गर्दछन् । गण्डकीका किनारमा दामोदर कुण्ड÷मुक्तिनाथदेखि हरिहरक्षेत्र देवघाटधामसम्म अनेकौँ तीर्थहरू रहेका छन् । ती ऊर्जामय गण्डकी तीर्थहरूमा अनादिकालदेखि ऋषि–महर्षि र तपस्वीहरूले साधना गरेर जीवन सफल बनाएका प्रशस्त ऐतिहासिक तथ्यहरू लोकप्रसिद्ध छन् । पछिल्लो समयमा गण्डकीका सन्तानहरूले नै आमाको त्यो दिव्यतम महिमा र सौन्दर्य भुल्दै गएको देखिएको छ, जसका कारण पवित्र कालीगण्डकीको धार्मिक, सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक गरिमा कमजोर बन्दै गइरहेको सन्दर्भमा जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचार–प्रसार गरेर पवित्र कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण र संवर्धनमा टेवा पुर्याउने उद्देश्यले कालीगन्डकी पदयात्रा गरिएको पदयात्राका संयोजक पौडेलले बताए ।

पदयात्रामा व्रतधारण गरेका साधु–सन्त र अभियन्ताहरु त्था गण्डकी किनारका श्रद्धालुहरू आ–आफ्ना क्षेत्रमा यथाशक्य सहभागी हुन सक्नेछन् । उक्त ऐतिहासिक पदयात्रामा यथाशक्य सहभागी हुन चाहने सबै गण्डकीभक्तहरू मुख्य तीर्थहरूमा हुने विशेष गण्डकी पूजन र जागरण सभामा सहभागी बन्न सक्नेछन् । पदयात्राको क्रममा देवघाटधाम–केलादीघाटधाम–राम्दीधाम, ऋषिकेशधाम–रुद्रवेणीधाम–सेतीबेनीधाम–मोदीबेनीधाम–गलेश्वरधाम–कागबेनीधाम– मुक्तिनाथधाम–दामोदरकुण्डधाम लगायत मुख्य तिर्थहरुमा पूजा एवं जागरण सभा हुनेछ ।

कालीगण्डकी नदी र दुर्लभ शालग्रामशिलाको बहुविध महत्व र उपयोगिताको प्रचार–प्रसार गरेर पवित्र जलसम्पदा र सभ्यताको संरक्षण र संवर्धन गर्न नेपाल तथा भारतका मुख्य पीठ एवं आश्रमका पूज्य सन्तहरूको आह्वान र सहभागितामा आयोजित पदयात्रा कार्यक्रम आ–आफ्नो तहबाट महत्वपूर्ण सहयोग पुर्याउन सम्पूर्ण गण्डकीप्रेमीहरूलाई अनुरोध गरिएको छ ।

उक्त ऐतिहासिक पदयात्रा आफ्नो स्थानीय क्षेत्र गाउँ/नगर/वडा/टोलमा आइपुग्दा व्यक्तिगत तथा सामूहिकरूपमा आवश्यक जलपान, भोजनप्रसाद र आवासको उचित प्रबन्ध मिलाई सहयोग गर्नहुन तथा आ–आफ्ना सांस्कृतिक पहिचान र प्रस्तुतिसहित सहभागिता जनाउनुहुन समस्त सनातनीहरूलाई संयोजक पौडेलले अनुरोध गरेका छन् ।












