तनहुँ । जेठ २४
भूमि समस्या समाधान आयोग जिल्ला समिति तनहुँको आयोजना तथा आँबुखैरेनी गाउँपालिकाको सहजीकरणमा शनिबार एक दिवसीय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।



गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा आयोजित कार्यक्रममा आयोगका जिल्ला संयोजक गोविन्दराज सिलवाल आयोगका विज्ञ सदस्य श्रीराम कार्की, महिला सदस्य आशा थापा, सदस्य रामचन्द्र उपाध्याय, र सदस्य–सचिव विजयकुमार सिंह लगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा भूमि सम्बन्धी ऐन, नियम तथा कार्यप्रणालीका विषयमा जिल्ला नापी कार्यालयका प्रमुख समेत रहेका सचिव विजयकुमार सिंहले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पालिका स्तरीय सहजीकरण समितिका सदस्यहरू, सबै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा नापी कार्यालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वक्ताहरूले आयोगको उद्देश्य, कार्यपद्धति र स्थानीय तहसँगको सहकार्यका सम्भावनाबारे प्रकाश पार्दै भूमिहिन सुकुम्बासीको समस्या समाधानमा स्थानीय तहको भूमिका अपरिहार्य रहेको बताए ।
गाउँपालिकाका अनुसार दोस्रो चरणका लागि ४६ जना भूमिहिन सुकुम्बासीको नाम प्रमाणीकरण गरी आयोगमा पठाइसकिएको छ भने हालसम्म १३ जनालाई जग्गाको पुर्जा वितरण गरिसकिएको जानकारी दिइएको छ । बाँकी भूमिहिन परिवारहरूलाई प्रमाणिकरण प्रक्रिया अघि बढाउँदै पुर्जा वितरणको कार्यलाई थप तीव्रता दिने गाउँपालिकाले प्रतिबद्धता जनाएको छ । कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले राखेकी थिइन् ।












