देवघाट क्षेत्र विकास समितिको अध्यक्ष रिक्त, काँग्रेस र एमालेका नेताहरु लबिङमा

Devghat Online

शेयर गरौ

देवघाट । असार १४

तनहुँ, चितवन र नवलपुर जिल्ला समेट्ने देवघाट क्षेत्र विकास समितिको अध्यक्ष पद पाँच महिनादेखी रिक्त रहेको छ । यस अघिका अध्यक्ष भिमबहादुर रानाको दुई वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त भएको हो । देवघाट गाउँपालिका-३ निवासी राना नेकपा माओवादी केन्द्रको कोटामा अध्यक्ष पदमा नियुक्त भएका थिए । उनको कार्यकाल सकिएको करिब पाँच महिना पुगेको छ । समितिमा अध्यक्षसँगै सदस्यहरुको पनि पद रिक्त भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट माग गर्नुपर्ने र कार्यन्वयन गराउनुपर्नेमा समिती नबन्दा नियमित काम बाहेक कुनै कुरा अगाडी बड्न सकेको छैन । गुरुयोजनाअनुसार काम गर्न र देवघाटधामको बृहत्तर विकासका लागि बजेट माग गर्नुपर्नेमा देवघाट क्षेत्र विकास समिति नबन्दा अन्यौल छाएको हो ।

चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुन नसकेको भन्दै पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ । ‘यो वर्ष पूँजीगततर्फ र चालूतर्फ थोरै रकम बजेट निकासा भएको देखिन्छ, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष सहित पुरै समितीको पदावधी सकिदा समेत सरकार समिती बनाउन उद्दत देखिएको छैन’ स्थानियले भने, ‘यो रकम देवघाटका लागि ‘हात्तीको मुखमा जिरा’ भयो ।’ देवघाटमा रहेका थुप्रै योजना सम्पन्न गर्न नियमितरूपमा आवश्यक बजेट विनियोजन हुनुपर्ने उनको भनाइ छ ।

’देवघाटको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न छ अर्ब रुपैयाँ आवश्यक पर्छ, यस वर्ष नीति तथा कार्यक्रममा समेत देबघाटलाई पन्छाईएको छ । देवघाटलाई रामायण सर्किटका रूपमा विकास गर्ने भनेर यसअघिको सरकारले सम्बोधन गरेको थियो, गुरुयोजनाअनुसार काम सम्पन्न गर्न गण्डकी प्रदेश, भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाबाट संयुक्त पहल आबश्यक देखिन्छ । कम्तीमा पनि तीन अर्ब बजेट केन्द्र सरकारमार्फत विनियोजन गरेर बाँकी काम सम्पन्न गर्नुपर्ने स्थानियको भनाइ छ ।

२०६४ मा बनेको देवघाटको गुरुयोजना बजेट अभावमा अलपत्र परेको स्थानियको भनाइ छ। १८ वर्षको अवधिमा समग्र योजनाको जम्मा ३० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १० वर्षमा ७० प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती रहेको छ । चालू आर्थिक वर्षमा देवघाट क्षेत्रमा बाँदर व्यवस्थापनदेखि आधुनिक ज्येष्ठ नागरिक (वृद्धाश्रम) बिश्रान्ती भवन निर्माणसम्मका काम गर्नुपर्ने चुनौती छ ।

चितवन, तनहुँ र नवलपुरको सङ्गम देवघाट क्षेत्र पाँच हजार ४३४ हेक्टरमा फैलिएको छ । विकास समिति ऐन, २०१३ अनुरूप संस्कृति, पर्यटन नागरीक उड्डययन मन्त्रालय मातहतमा देवघाट क्षेत्र विकास समिति गठन भएपछि २०५१ बाट औपचारिक कार्य सुरु भएको थियो ।

अध्यक्ष पद रिक्त भएपछि उक्त पदमा नियुक्ती पाउन नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु लबिङमा लागेका छन् । नेपाली काँग्रेसबाट युवा समाजसेवी तथा पत्रकार नविनराज पौडेल, सोमनाथ ढकाल, ऋषि खनाल तथा विष्णु सापकोटाले लबिङ तिब्र पारेका छन् । अध्यक्ष पद नेपाली काँग्रेसको भागमा परेमा व्यास नपा-८ रिस्ती निवासी नविनराज पौडेलको सम्भावना सबैभन्दा बढि रहेको बताईएको छ । उनलाई राष्ट्रपती रामचन्द्र पौडेलको सदायसता तथा काँग्रेस महामन्त्री गगन थापा, केन्द्रीय सदस्य गोविन्द भट्टराई, चितवन काँग्रेसका पुर्व सभापती जितनारयण श्रेष्ठ तथा तनहुँ काँग्रेसका निवर्तमान सभापती एवं व्यास नपाका मेयर बैकुण्ठ न्यौपानेको साथ रहेको बुझिएको छ । पौडेललाई चितवनका नेताहरु प्रा.डा.सुर्यकान्त घिमिरे, मिलनबाबु श्रेष्ठले खुलैरै साथ दिएका छन् । चितवन काँग्रेसका सभापती राजेश्वर खनाल मौन देखिएकोले पौडेललाई थप सजिलो देखिएको बताइन्छ ।

यस्तै देवघाट-५ निवासी नेपाली काँग्रेस स्थानीय नेता सोमनाथ ढकाल पनि अध्यक्ष बन्न लबिङमा लागेका छन् । उनलाई देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले साथ दिएका छन् । ढकाललाई क्षेत्र विकास समितिको अध्यक्ष बनाउन काँग्रेस देवघाट गाउँ कार्य समितिका सभापती समेत रहेका गाउँपालिकाका अध्यक्ष थापाले एकलौटी सिफारिस गरेको भन्दै स्थानिय काँग्रेसका नेताहरुबिच मनमुटाब बढेको बताईएको छ ।

यस्तैगरि देबघाटका स्थानिय बिष्णु सापकोटा पनि अध्यक्षका दाबेदार हुन् । उनी यसअघि दुई कार्यकाल सदस्य बनेका थिए । उनीहाल नवलपुर जिल्लामा बसोबास गर्दै आएको र नवलपुरबाट निर्वाचित सांसद एवं काँग्रेसका पुर्व महामन्त्री डा. शंसाक कोईराला र क्षेत्रिय सभापति अमृत भट्टचनको सिफारिस लिएर सापकोटाले अध्यक्ष दाबी गरेका छन् । यसैगरि नेपाली काँग्रेस चितवनका नेता ऋषि खनाल पनि अध्यक्ष बन्न लबिङमा लागेका छन् । खनाललाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोईरालाले साथ दिएका छन् ।

यता अध्यक्ष पद नेकपा एमालेको भागमा परेमा नेकपा एमाले चितवनका नेता नवराज ढकाल मात्र प्रतिश्पर्धी रहेका छन् । ढकाल यस अघि दुई कार्यकाल देवघाट क्षेत्र विकास समितिको सदस्य पदमा रही काम गरिसकेका छन् । उनी देवघाटधाम तथा क्षेत्र विकास समितिको महत्व बुझेका व्यक्ति हुन् ।

संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको देवघाट क्षेत्र विकास समितिको अध्यक्ष पद नेपाल सरकार मन्त्री परिषदबाट नियुक्ती हुने गर्छ । अध्यक्षको कार्यकाल २ बर्ष र कार्यकारी निर्देशकको कार्यकाल ४ बर्षको हुन्छ । कार्यकारी निर्देशक हाल माओवादी केन्द्रबाट नियुक्त भएका सदन बराल रहेका छन् ।

संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको मन्त्रीमा नेपाली काँग्रेसका बद्री पाण्डे रहेका छन् । यद्यपी मन्त्रीपरिषदले नै नियुक्ती गर्ने भएको कारण सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेको विचमा यस्ता केही राजनीतिक नियुक्तीको पदमा भागबन्डाबाट नियुक्ती हुने गरेको छ ।

देवघाट क्षेत्र विकास समितिको गठन तनहुँ, चितवन र नवलपुर भुगोल मिलाएर गरिन्छ । समितिको सदस्यमा तिन वटै जिल्लाबाट २/२ जना राख्नुपर्ने ब्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार