तनहुँ । असार १५
तनहुँको घिरिङ गाउँपालिकाले रैथाने बालीको उत्पादन र उपभोग गरि खाद्य तथा पोषण सुरक्षा गर्ने नीति ल्याएको छ । आगामी आर्थिक वर्षको लागि ल्याईएको नीति तथा कार्यक्रममा घिरिङ गाउँपालिकाले स्थानीय बालीको उत्पादन र स्वच्छ तथा गुणस्तरयुक्त खाद्यबस्तुको उपभोगमा सबैको पहुँच सुनिश्चित गरि दिगो र समतामुलक तथा समानुकुलित खाद्य प्रणालीको विकास गर्ने नीति ल्याएको छ ।



कृषि क्षेत्रको उत्पादन, उत्पाकत्व बृद्धि, आधुनिकीकरण, यान्त्रिकरण, व्यवसायीकरण एवं बजारीकरण नीति ल्याइने गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । त्यस्तै फलफुलखेती र खाद्यान्न बालीलाई प्रबद्र्धन र विस्तार गर्न माटो सुहाउँदो लक्षित कार्यक्रम सन्चालन गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।
किसान सुचिकरणलाई निरन्तरता दिने, किसान परिचयपत्र वितरण तथा साना र सिमान्तकृत किसान लक्षित कार्यक्रम सन्चालन गरिने भएको छ । जैविक विविधताको संरक्षण, सम्बद्र्धन र उपयोगको नीति ल्याइने तथा परम्परागत तथा प्राकृतिक पोषणयुक्त खाद्यान्न बालीको विस्तार गरिने भएको छ ।
स्वस्थ माटो, स्वच्छ बालीको अभियान मार्फत माटोको अम्लियपन, क्षारियपन तथा सुक्ष्मतत्वहरुको परिक्षण गरि माटो सुधारको लागि सामाग्री तथा प्रविधि हस्तान्तरण गरिने भएको छ । त्यसैगरि बाली बीमा निशुल्क बनाई बीमा प्रिमियम शुल्कमा सहुलियत प्रदान गरि कृषि उत्पादनमा ह्रास आएमा क्षतीपुर्ती दिने व्यवस्था मिलाइने भएको छ ।
अकबरे खुर्सानी, केरा, सुन्तला, किवि, कफि, कागती लगायत खाद्यान्न बालीको उन्नत बिउ लगायत बजारमा माग बढि भएका खाद्यान्न बाली र तरकारी तथा फलफुलका बिउ र बेर्ना वितरण गरि खेतीको लागि उत्प्रेरित गरिने भएको छ ।
रासयानीक मल ढुवानीमा अनुदान दिने, मौरी उत्पादन तथा पुष्प व्यवसाय प्रबद्र्धन कार्यक्रम सन्चालन गरिने भएको छ । गाउँपालिका भित्र उत्पादन भएका तरकारी तथा फलफुललाई कोल्डस्टोरमा भण्डारण गर्ने व्यवस्था पनि मिलाउने अध्यक्ष थापाले बताए ।












