तनहुँ । असार १६
म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६८ करोड ७६ लाख ३६ हजार रुपैयाँको बजेट पारित गरेको छ । सोमबार बसेको गाउँपालिकाको १८ औं गाउँसभाको तेश्रो बैठकले गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गत असार १० गते प्रस्तुत गर्नु भएको उक्त बजेट पारित गरेको हो ।



म्याग्देको कुल बजेट मध्ये चालुतर्फ ६८ दशमलब ९४ प्रतिशत अर्थात ४७ करोड ४० लाख ५२ हजार र पुँजीगत तर्फ ३१.०६ प्रतिशत अर्थात २१ करोड ३५ लाख ८४ हजार बाँडफाँड गरिएको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान ९ करोड ८६ लाख, शशर्त अनुदान पुँजिगत ८० लाख ४० हजार, शशर्त अनुदान चालु १८ करोड ८ लाख ७४ हजार, संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने ८ करोड ४५ लाख ४२ हजार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १ करोड २१ लख ७५ हजार रहेको छ ।
त्यसैगरि प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त हुने ८८ लाख ६३ हजार, राष्ट्रपति शैक्षिक सुधार तथा अन्य अनुमान ९० लाख, सडक बोर्डको आम्दानी २३ लाख र आन्तरिक आय तर्फ ११ करोड २५ लाख ५५ हजार, संघको समपुरक १ करोड २० लाख, संघको विशेष अनुदान ९० लाख, सामाजिक सुरक्षा भत्ता वापत प्राप्त हुने १३ करोड ५० लाख, प्रदेशको समपुरक अनुदान ६० लाख, प्रदेशको विशेष अनुदान ४० लाख, नागरिक बाट जम्मा हुने नगद साझेदारी रकम १ करोड ७० लाख हुने अनुमान गरिएको छ ।

म्याग्दे गाउँपालिकाले यस अघि दोश्रो आवधिक योजनाको दिर्घकालिन सोच ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास कृषि पर्यटन र पुर्वाधार’ को लक्ष्यलाई साकार पार्ने अठोट सहित म्याग्दे गाउँपालिकालाई नीति तथा कार्यक्रममा आगामी पाँच वर्ष भित्रमा स्मार्ट र नगरोन्मुख बनाइने नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।
गाँउपालिकालाई स्मार्ट तथा नगरोन्मुख बनाउन ५ वर्ष भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रम मार्फत अध्यक्ष श्रेष्ठले हालको पदाधिकारीको बाँकी रहेको २ वर्षको कार्यकालमा ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास कृषि पर्यटन र पुर्वाधार’ को अभियान सन्चालन गर्ने तथा खर्च कटौतीको लागि अनावश्यक चालु खर्च नियन्त्रण, सबै प्रकृतिका भ्रमण खर्च, अनावश्यक गोष्ठी, तालिम, अनावश्यक सामाग्री खरिद, ओभर स्टाफिङ तथा करार कार्यमा रोक लगाउने गरि दिर्घकालिन नीति प्रस्ताव गरेका थिए ।
गाँउसभाले क्षेत्रगत रुपमा विभिन्न नीतिहरु पारित गरेको छ । जस अन्तरगत कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम सन्चालन गरिने भएको छ । त्यस्तै आली देखि नालीसम्म, खाद्य स्वच्तता कायम गर्न बसे पनि शहर गाँउकै खाने रहर नारा लाई व्यवहारिक कार्यन्वयनका लागी कोदोको मम, कोदोको सेल, कोदाको रक्सी, फापरको रोटी, सिस्नुको सुप, बेलको जुस उत्पादन, वजारीकरण गरिने उल्लेख गरिएको छ । बाँदर प्रभावित क्षेत्रलाई लक्षित गरि अदुवा हलेदो जस्ता मसलाजन्य बालीको उत्पादन प्रबद्र्धन र बाँदरबाट हुने क्षती न्युनीकरण गर्न फलफुल बनको स्थापना गरिने भएको छ । त्यस्तै स्वस्थ बाली उत्पादन स्वच्छ खानपान भन्ने नाराका साथ कृषक समुह मार्फत आईपिएम कृषक पाठशाला सन्चालन गरिने तथा स्वदेशी फुलसँगै स्वदेशमै दशैं तिहार भन्ने नाराका साथ बढ्दो फुलको मागलाई सम्बोधन गर्न पुष्पखेती प्रबद्र्धन गरिने भएको छ ।
यसैगरि पशुसेवा तथा प्रसार कार्यक्रम अन्तरगत अध्यक्षसँग पशु सेवा कार्यक्रम सन्चालन गरिने भएको छ । गोठ देखी ओठ सम्म स्वच्छ उत्पादन गर्न तालिम र अन्तरक्रिया गरिने, पालिकामा भेटनरी अस्पताल स्थापना र सन्चालन गरिने, दुधमा दिइदै आएको प्रति लिटर १० रुपैयाँको अनुदानलाई निरन्तरता दिने, हल गोरु पोषण अनुदान आगामी वर्ष वडा नम्बर ५, ६ र ७ मा सन्चालन गरिने भएको छ ।
घरेलु तथा साना उद्योग तर्फका विभिन्न कार्यक्रमहरु समावेश गरिएकाछन् । जसमा अध्यक्षसँग स्वरोजगार कार्यक्रम सन्चालन गरिने भएको छ । स्थानीय सीप श्रोत, साधन एवं प्रविधिको प्रयोगलाई वढावा दिईने, ५ जनाको समुहमा प्रविधि हस्तान्तरण लघु उद्यम विकास कार्यक्रम सन्चालन गनिरे भएको छ । व्यवसायिक उत्पादन गर्न अग्रसर गराउने उल्लेख गरिएको छ । उद्योग पर्यटन मन्त्रालय गन्डकी प्रदेशसँग समन्वय गरि बृद्धिमुखी उद्यमशिलता रोजगारी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । स्थानिय वन पैदावर, प्राकृतिक स्रोत साधन, जडिवुटिमा आधारित उद्योगहरु स्थापना गर्ने उल्लेख गरिएको छ ।
नीती तथा कार्यक्रममा पर्यटन तर्फ पालिकाका सबै पर्यटकीय गतिविधि तथा कार्यक्रमलाई उपाध्यक्षसँग पर्यटकीय कार्यक्रमको रुपमा अगाडी बढाइने भएको छ । युवाहरुलाई ट्रेकिङ गाइड, होमस्टे सन्चालन तथा पर्यटकीय प्रबद्र्धनमुलक तालिम दिइनेछ । मानुङ, बच्र्याङ, हर्कपुर र छाङगैह्रामा गुणस्तरीय होमस्टे सन्चालन गरिने भएको छ ।
त्यस्तै सहकारी विकास तर्फ गाउँपालिका भित्रका सबै सहकारीहरुलाई आगामी आर्थिक वर्ष भित्र अनिवार्य रुपमा कोपोमिक्समा आवद्ध गराईने भएको छ । कृषि सहकारी संस्था र कृषी फर्मबाट उत्पादित बस्तुहरु बजारीकरणमा सहयो गर्ने, सहकारीको चौमासिक रुपमा अनुगथमन गर्ने लगायतका कार्यक्रम छन् ।
समाजिक विकास समिती तर्फ शिक्षा क्षेत्रको व्यापक सुधारको लागि अध्यक्षसँग शैक्षिक सुधार कार्यक्रम सन्चालन गरिने भएको छ । त्यस्तै साथीवाट सिक्ने, साथीलाई सिकाउने कार्यक्रमलाई विशेष महत्व दिईने उल्लेख गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्य बन्न नपाइने कानुनी व्यवस्थालाई कार्यान्वयन गरिने भएको छ । शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइने भएको छ । कक्षा ६ र ८ का लागि स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरिने भएको छ । आदिकवि भानुभक्त क्याम्पस लगायत जिल्लाका अन्य सामुदायिक विद्यालयमा पढ्ने म्याग्देका विद्यार्थीलाई छात्रबृत्ती दिइने भएको छ । स्थानीय उत्पादनमा आधारित पौष्टिक तथा स्वस्थकर दिवा खाजाको व्यवस्था गरिने भएको छ ।
स्वास्थ्य क्षेत्र तर्फ म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई स्वास्थ्यको मुल आधार वनाईने उल्लेख गरिएको छ । अध्यक्षसँग स्वास्थ्य सुधार कार्यक्रम सन्चालन गरिने भएको छ । गाउँपालिकामा रहेका २ वटा एम्बुलेन्स मध्ये एउटा एम्बुलेन्सलाई शव बाहान बनाइने भएको छ । १० शैयाको थर्पु आधारभुत अस्पतालमा स्वास्थ्य विमाको कार्यक्रम सन्चालन गरिने भएको छ । विभिन्न वडाहरुमा विभिन्न रोग सँग सम्बन्धित घुम्ती स्वास्थ्य परिक्षणका कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने भएको छ । हरेक परिवार स्वास्थ्य विमा कारोबार भन्ने नारा सहित सबै घर परिवारलाई स्वास्थ्य विमामा आवद्ध गराइने भएको छ । अध्यक्षसँग सुत्केरी कार्यक्रम अन्तर्गत सुत्केरीलाई जनही ५ हजार उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
यसैगरि युवा तथा खेलकुद, महिला तथा वालवालिका र लक्षित वर्गको उत्थानमा विशेष जोड दिएको छ । अध्यक्षसँग खेलकुँद कार्यक्रमलाई अगाडी बढाइने भएको छ । अध्यक्ष कप लगायत अन्य विभिन्न प्रतियोगिताहरु सन्चालन गरिने भएको छ । युवाहरुलाई स्वरोजगार बनाउन तथा दुव्र्यसनमुक्त बनाउन विभिन्न कार्यक्रम सन्चालन गरिने भएको छ ।
महिला, बालबालिका अपाङ्गता, जेष्ठ नागरिक र अन्य तर्फका कार्यक्रमलाई उपाध्यक्षसँगको कार्यक्रममा जोडी अगाडी वढाईने उल्लेख गरिएको छ । खानेपानी तथा सरसफाई र फोहारेमैला व्यवस्थापन तर्फ प्रदेश सरकार र गाँउपालिकाको एउटै नाराको रुपमा रहेको एक घर एक धाराको नितिलाई अवलम्वन गरिने उल्लेख गरिएको छ ।
भाषा र संस्कृतिक र साहित्य तर्फ स्थानिय मौलिक सांस्कृतिक पर्यन र उत्पादन सँग जोडेर विकास गरिने उल्लेख गरिएको छ भने गैसस, नीजि क्षेत्र, सहकार्य साझेदारी कार्यक्रमलाई निरन्तरता दिईने उल्लेख छ । त्यसैसगरि समग्र पुर्वाधार जन्य कार्य प्रक्रियाको सम्वन्धमा निति तथा कार्यक्रममा समेटिएको छ भने, सडक तथा पुल कल्भर्ट र झोलुङ्के पुल निर्माण, भवन तथा शहरी विकास तर्फका कार्यक्रमहरु समावेश गरिएका छन् । पालिकामा जग्गा चक्लावन्दी तथा वस्तीविकास योजना लाई व्यवस्थित गरिने, विद्युत तथा उर्जा क्षेत्रलाई प्रभावकारी वनाईने, सिंचाईलाई व्यवस्थित गरिने, संचार र प्रविधिको भरपुर प्रयोग गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरि वन, तथा वातावरण को क्षेत्र विपद व्यवस्थापन, भुमि व्यवस्थापनको क्षेत्रलाई निती तथा कार्यक्रमले विशेष जोड दिएको छ । न्यायिक सम्पादन र राजश्व परिचालनलाई प्रभावकारी वनाउने, वित्तीय अनुशासन कायम गर्ने, समाजिक सुरक्षाको क्षेत्रलाई ध्यान दिने उल्लेख गरिएको छ । यसैगरि लोकप्रिय कार्यक्रमलाई नीति तथा कार्यक्रमले विशेष ध्यान दिने उल्लेख गरिएको छ ।












