तनहुँ । असार १८
आबुँखैरेनी गाउँपालिकाले एसइई परिक्षामा तनहुँ जिल्लामै सर्वाेत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थी सहित एसईईमा उत्कृष्ट अंक सहित उत्तिर्ण हुने सम्पुर्ण विद्यार्थीलाई सम्मान गरेको छ । बुधबार गाउँपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, शिक्षा अधिकृत निर्मला कुँवर लगायतले विद्यार्थीहरुलाई सम्मान गरेका हुन् ।



राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भएको शैक्षिक शत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा राष्ट्रिय स्तरमा नियमित तर्फ ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको अवस्थामा आँबुखैरेनी गाउँपालिकाले ७८.९९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । आबुँखैरेनीका लक्ष्मी माविले शत प्रतिशत, रामशाह माध्यमिक विद्यालयले ८९.५५ प्रतिशत, कन्यादेवी माध्यमिक विद्यालयले ७३.३३ प्रतिशत र मित्रता माध्यमिक विद्यालयले ५८.२३ प्रतिशत तथा छिम्केश्वरी माध्यमिक विद्यालयले ५७.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।

रामशाह माध्यमिक विद्यालयलकी छात्रा सन्जिना थापा र छात्र किस्मत पोखरेलले ४.० जिपिए, विपस्वी पन्तले ३.९६, गौरव कुमालले ३.९५, फ्युचर स्टार बोर्डिङ स्कूलका छात्र आशिक पन्तले ३.९५ जिपिए, सन्ध्या विकले ३.८२ जिपिए (दलिततर्फ उत्कृष्ट) प्राप्त गरी उत्कृष्ट नतीजा ल्याएका छन् भने रामशाह माध्यमिक विद्यालयको प्राविधिक धारतर्फका छात्रा महिष्मा श्रेष्ठले ३.७८ जिपिए सहित तनहुँ जिल्लामा सर्वोत्कृष्ट हुन सफल भएकी छिन् ।

उत्कृष्ट नतीजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीलाई बहिनीहरुलाई प्रोत्साहन स्वरुप आँबुखैरेनी गाउँपालिकाले ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीलाई प्रति विद्यार्थी ५० हजार नगद, सम्मानपत्र र दोसल्ला तथा ३.९ जिपिए भन्दा माथि ल्याउने विद्यार्थीलाई प्रति विद्यार्थी ३० हजार नगद, सम्मानपत्र र दोसल्ला सहित पुरस्कृत गरेको थियो ।

साथै विद्यार्थीहरुलाई उत्कृष्ट नतीजा सहित उत्तीर्ण गराउन खट्ने शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । आफूले अध्यापन गर्ने विषयमा शत प्रतिशत पास गराउन सफल शिक्षक तथा गणित र विज्ञान विषयमा ९० प्रतिशत भन्दा माथि उत्तीर्ण गराउन सफल प्रति शिक्षक ५ हजार, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल र उत्कृष्ट नतिजा ल्याउन मद्दत गर्ने ३८ जना शिक्षकहरूलाई सम्मान गरेको थियो ।

यस्तै आँबुखैरेनीको शिक्षा सुधारका हातेमालो गर्ने इलाका प्रहरी कार्यालय आबुँखैरेनी, उद्योग वाणिज्य संघ, सत्रसय बजार इकाई समितिका सभापति खगराज गौली, उद्योग वाणिज्य संघ, आँबुखैरेनी बजार इकाई समितिका सभापति भगवान श्रेष्ठ तथा आँबुखैरेनी ख्रिष्टियन समाज, आँबुखैरेनीका पास्चर प्रेम बहादुर तामाङलाई कदर–पत्र द्वारा सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट नतिजा ल्याउन मद्धत गर्ने शिक्षक तथा सहयोगी संस्थाहरूलाई बधाई दिँदै ‘शिक्षा क्षेत्रमा यस्ता सम्मान कार्यक्रमले अझ धेरै विद्यार्थी र शिक्षकलाई प्रेरणा दिन्छ र गाउँपालिकाले शिक्षा क्षेत्रमा निरन्तर लगानी गर्नेछ ।’












