भुमी सम्बन्धी समस्या समाधानकोलागि देवघाट सामाजिक संयन्त्रद्वारा देवघाट गाउँपालिकाको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

देवघाट । असार २३

देवघाट सामाजिक संयन्त्रले भुमी सम्बन्धी समस्या समाधानकोलागि देवघाट गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । देवघाट सामाजिक संयन्त्रका अध्यक्ष अर्जुन अधिकारीको नेतृत्वको टोलीले सोमबार देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ र प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत समक्ष भुमी सम्बन्धी समस्या समाधान गर्न ध्यानाकर्षण पत्र बुझाएको हो ।

‘नागरिकहरुलाई तत्काल लालपुर्जा तत्काल वितरण गर्न अनुरोध’ संयन्त्रले देवघाट गाउँपालिकाका पाँच वटै वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका सयौं परिवारको तर्फबाट भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । देवघाट गाउँपालिका अन्तर्गतका बिभिन्न वडामा वर्षौदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी नागरिकहरू आज पनि लालपुर्जा नपाएर नागरिकता, घर जग्गा प्रमाण, बैंक, शिक्षादिक्षा, स्वास्थ्य लगायतका सेवाबाट वञ्चित हुँदै आएको उक्त ध्यानाकर्षणपत्रमा जनाईएको छ ।

देवघाटमा यस अघि नै भूमि समस्या समाधान आयोग, मालपोत कार्यालय, नापी कार्यालय तथा स्थानीय तहसँगको समन्वयमा फाराम संकलन, विवरण प्रमाणीकरण, स्थलगत निरीक्षणजस्ता काम भएपनि हालसम्म लालपुर्जा वितरण कार्य लम्बिदो, ढिलासुस्ती र अस्पष्ट प्रक्रियाले गर्दा जनतामा निराशा छाएको जनाईएको छ । तथर्स संयन्त्रले भूमि सम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल पुनः सक्रिय गर्न, लालपुर्जा वितरण कार्यमा गाउँपालिकाले जिम्मेवार भूमिका खेली आयोग, मालपोत, नापी र वडाहरूसँग समन्वय गर्न तथा प्रक्रिया स्पष्ट, पारदर्शी र सार्वजनिक रूपमा जनता समक्ष राख्न माग गरेको छ ।

यसैगरि ध्यानाकर्षणपत्रमा दलित, महिला, असहाय, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई प्राथमिकता दिन, स्थायी बासोबास, नागरिकता, विद्यालय अभिलेख, स्थानीय सिफारिस आदि आधारलाई मान्यता दिन तथा पालिका स्तरीय सहजिकरण समिति गठन नभएको भए गठन गरि तत्काल नामावली सार्बजनिक गर्न पनि माग गरिएको छ । उक्त विषयहरु तत्काल सम्बोधन नभए बाध्य भएर जनस्तरबाट दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी पनि संयन्त्रले दिएको छ ।
देवघाट सामाजिक संयन्त्रका अध्यक्ष अर्जुन अधिकारीले भुमी सम्बन्धि समस्या समाधान गर्न पटक–पटक अनुरोध गर्दा समेत देवघाट गाउँपालिकाले सहजिकरण नगरेको गुनासो गरे । गाउँपालिका स्तरीय सहजिकरण समितिको डेढ वर्षदेखि कुनै बैठक समेत नबसेको र यसकोलागि गाउँपालिकाले पनि कुनै पहल नगरेको उनले बताए । वडा नम्बर ५ मा ठुलो समस्या रहेको भन्दै अधिकारीले उक्त समस्या समाधान गर्न गाउँपालिकाले वेवास्ता गरेको बताए ।

संयन्त्रका उपाध्यक्ष शान श्रेष्ठले भुमी सम्बन्धी समस्या समाधानको गर्ने सवालमा जिम्मेवार व्यक्तिको अभिव्यक्ति गैरजिम्मेवार आईरहेको बताए । भुमिहिन नागरिकलाई भुमिको मालिक बनाउन संयन्त्रले घच्घचाई रहेको भन्दै उनले पालिका स्तरीय सहजिकरण समिति बन्नुपर्ने माग गरे । डेढ वर्षदेखि समितिको बैठक नबस्नु गैरजिम्मेवारी भन्दै उनले केही सिमित व्यक्तिलाई देखाएर देवघाटका समग्र भुमिहिनको अधिकार खोस्ने षड्यन्त्र भईरहेको आरोप लगाए । संयन्त्रका सचिव बलबहादुर क्षेत्रीले पनि भुमी सम्बन्धी समस्या यथाशिघ्र समाधान गर्नुपर्ने भन्दै समस्या परेको ठाउँमा सहजिकरण र सहयोगको लागि संयन्त्र तयार रहेको बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले भुमीहिनको समस्या देवघाटको मात्र नभएर समग्र देशै समस्या भएको हुँदा आफुहरुले देवघाटमा जतिसक्दो चाँडो समस्या समाधानाको लागि काम गरिरहेको बताए । देवघाटको सबै वडाको जग्गा नापजाँच भएको भन्दै उनले अहिले लाभग्राहीको नाता प्रमाणपत्रको माग भएको र त्यो संकलनको काम भईरहेको बताए ।

भुमि आयोग समक्ष आफुहरुको पनि गुनासो रहेको भन्दै अध्यक्ष थापाले आफु सदरमुकाम जाँदा प्रत्येक पटक भुमी आयोगमा गएर यसबारेमा भईरहेको प्रगतिको बारेमा बुझेको बताए । देवघाटमा जग्गाधनीपुर्जा वितरणमा किन ढिलाई भईरहेको छ भन्ने बारेमा आफुले पनि खोजबिन गरिरहेको भन्दै अध्यक्ष थापाले वडा नम्बर ५ को समस्या अलि जटिल भएको कारण समस्या स्वभाविक रुपमा बढि भएको बताए । एउटै जग्गामा धेरै जनाले निस्सा लिएको तथा सार्वजनिक जग्गामा समेत निस्सा लिएको उजुरी समेत परेको उनले बताए । साथै बाटोको मापदण्ड पनि पु¥याउनुपर्ने उनले बताए ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी इमानदार भएर रातदिन यो काममा खटिएको अध्यक्ष थापाले बताए । हाल सहजिकरण समितिको बैठक नबसेको भन्दै उनले आवश्यक परेमा त्यो समितिको बैठक पनि राख्ने र असार महिनामा भित्रै आयोगका जिल्ला पदाधिकारीको उपस्थितीमा देवघाटमा बृहत अन्तरक्रिया कार्यक्रम राख्ने बताए ।

देवघाट सामाजिक संयन्त्रले देवघाटको भुमी सम्बन्धी समस्या समाधानको लागि आइतबार भुमी समस्या समाधान आयोग र राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । उक्त ध्यानाकर्षण बुझाउने कार्यक्रममा संयन्त्रका अध्यक्ष अर्जुन अधिकारी, उपाध्यक्ष शान श्रेष्ठ, सचिव बलबहादुर क्षेत्री, कोषाध्यक्ष दुर्गाबहादुर गुरुङ र सदस्य सोमनाथ ढकाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र