तनहुँ । साउन ६
धारिलो हतियार खुडा देखाएर आतंक मच्चाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाश लौडारीलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राती डरलाग्दो हतियार देखाएर लौडारीले स्थानीयलाई आतंक मच्चाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।



भानु नगरपालिका–१३ चन्द्रावती निवासी लौडारीले स्थानीय भानु नगरपालिका–१२ निवासी बलराम अधिकारी र भानु नगरपालिका–१३ निवासी अशोक अधिकारीलाई घरमै पुगेर खुडाँ देखाएर मार्छु भनेर आतंक मच्चाएका थिए । राती ढोका लगाएर घरभित्र पसेकोले बाच्न सफल भएको पीडितहरुले बताएका छन् ।
लौडारीले मदिरा सेवन गरी होहल्ला गर्दै खुँडाले घरमा झटारो हानेका थिए । स्थानीय गुहार मागेपछि प्रहरीलाई खबर गरेपछि लौडारी भागेका थिए । लौडारी हाल काठमाडौंमा बस्दै आएका छन् । रवि लामिछानेको पक्राउको बिरुद्ध हस्ताक्षर संकलनको लागि लौडारी आफ्नो जन्म गाउँ आएका थिए ।
लौडारीलाई भानु नगरपालिका–२ नारेश्वाटार स्थित इलाका प्रहरी कार्यालय भानुले नियन्त्रण लिई हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले बताए ।

यसैविच लौडारी पक्राउ परेपछि उनलाई २ महिना अघि नै कारवाहीको लागि सिफारिस गरिएको पत्र रास्वपाले सार्वजानिक गरेको छ । रास्वपा तनहुँले गत बैशाख ७ गते लौडारीलाई कारवाही गरिएको पत्र साउन ६ गते बिहान सार्वजानिक गरेको हो । यस अघि लौडारीलाई कारवाही गरिएको बारेमा कतै केही सार्वजानिक नगरेको रास्वपाले लौडारीको अपराधिक गतिविधि सार्वजानिक भएपछि र कानुनी दायरामा आएपछि उनलाई सार्वजानिक गरेको पत्र सार्वजानिक गरेको हो ।
तर लौडारीको फेसबुक हेर्दा उनी असार अन्तिम सातासम्म रास्वपाको गतिविधिमा र हस्ताक्षर संकलन कार्यक्रममा संलग्न भएको देखिन्छ । । लौडारीको फेसबुक प्रोफाईलमा अझैपनि रास्वपाको गतिविधि देखिन्छ । उनी बन्दीपुरको डुम्रे र भानु नगरपालिकाका विभिन्न स्थानमा रास्वपा सभापती लामिछानेको पक्षमा हस्ताक्षर अभियान कार्यक्रममा संलग्न भईरहेका छन् ।

पार्टीले २ महिना कारवाही गरेको पत्र सार्वजानिक गर्नु र लौडारी असार अन्तिम सातासम्म रास्वपाकै गतिविधिमा संलग्न भएको देखिनुले आरोपित देखिनासाथ पुरानो मिति राखेर कारवाही गर्ने रास्वपाको रणनीति यसपटक पनि छर्लङ्ग भएको छ ।












