तुइनखोलाको पहिरोले शुक्रबार साँझ देखी यात्रुहरु सडकमा, शनिबार पनि खुलेन सडक
तनहुँ । असोज ४



शुक्रबार राती देखी मुग्लिन–नारायणगढ सडकको तुइन खोलामा पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भएको छ । शुक्रबार रातीदेखी हजारौं यात्रुहरु सडकमै अलपत्र परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलमामा शुक्रबार राती र शनिबार दिउँसो पटक–पटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका हुन् ।
यो ठाउँमा गइरहेको पहिरोले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको छ । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो ।
पुल बनेको भए यतिबेला पहिराका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो । मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिं मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न पाउँथे । त्यस्तै पोखरातर्फबाट आउने यात्रु डुम्रे–आँबुखैरेनी नभई बुद्धसिं मार्ग भएर उक्त पुल तरेर भरतपुरको घुमाउने निस्किन पाउँथे ।

११ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । उक्त ठाउँमा पुल निर्माण अलपत्र हुँदा मुग्लिन–नारायणगढ खण्डको तीन किलोमा गएको पहिराले घन्टौँसम्म यात्रु अलपत्र पर्नुपर्ने अवस्था आएको आबुँखैरेनी ५ का युवा समासेवी सन्तोष रानाले बताए । ‘यात्रु गन्तव्यसम्म जानका लागि घन्टौँ पहिराले थुनिएर अलपत्र बन्नुपरेको छ, घुमाउनेमा पुल बनेको भए वैकल्पिक मार्ग हुँदै यात्रु आवतजावत गर्न पाउँथे’ उनले भने ।
रानाले घुमाउनेको पुल निर्माण सम्पन्न गर्नेतर्फ सरोकारवालाको ध्यान नभएको बताए । ‘घुमाउनेको अलपत्र पुल हेरेर चित्त बुझाउनुपर्ने अवस्था छ, पुल बनेको भए आज अलपत्र भएर बस्नुपर्थेन, बुद्धसिं मार्गमा पनि यस अगाडि नै कालोपत्र भइसक्नुपर्ने थियो’ उनले भने ।
उक्त पुललाई समयमै पूरा गर्न सकेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा उक्त मार्ग विकास हुने थियो । उनले भने, ‘यो पुललाई देखाएर धेरैले राजनीति गर्नुभयो, तर ठेकेदारलाई ल्याएर काम गराउनेतिर कसैले पहल गरेनन् ।’ अहिले त उक्त पुलको डिजाइन परिवर्तन गरेर पुनः अर्काे पुल बनाउने बारेमा सडक विभागमा छलफल भएको छ । त्यसले सो ठाउँमा अझै केही वर्षसम्म पुल नबन्ने निश्चित देखिएको छ ।
उक्त बुद्धसिंह मार्गमा मोटरसाइकलमार्फत झोलुङ्गे पुल तरेर यात्रा गर्दै आएकोमा सो मार्गको नाल्दीघाटमा पहिरो जाँदा शनिबार त मोटरसाईकल पनि तार्न सकिएको छैन । मुग्लिन–नारायणगढ खण्डमा पहिराले दैनिक राजमार्ग अवरुद्ध हुँदा पुलको दुईतिर ठडिएका पिल्लर हेरेर चित्त बुझाउनुको विकल्पको नभएको घुमाउने पुल निर्माण संघर्ष समितिका संयोजक सिद्धान्त थापा मगरले बताए । संघर्ष समितिले पुल निर्माणमा दवाव दिन पटक पटक संघर्ष गरेपनि कुनै उपलब्धी भएको छैन ।

विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भए र रोकिएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसकेको आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले बताए । ‘निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको कामले गति लिन सकेन, सम्बन्धित निकायमा पनि पटकपटक ध्यानाकर्षण गरायौँ’, चुमानले भने । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेवल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहूँको प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको हो ।
उक्त पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डो¥यायाएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।
पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्ला जान समय बचत हुने बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बास्तोलाको भनाइ छ । तनहुँको दमौलीबाट घुमाउने घाटसम्म नियमितरुपमा साना बस तथा दुईपाङ्ग्रे सवारीसाधन आउने जाने गरेका छन् ।
यसैविच नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो पन्छाउने काम शनिबार पनि पुरा हुन सकेन । पहिरो लगातार खसिरहेको कारण पन्छाउन जोखिम भएकोले शनिबार साँढे ६ बजेदेखी पहिरो पन्छाउने काम रोकिएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।
रातको समयमा बत्तीको सहाराले भएपनि पहिरो पन्छाउने तयारी गरिएपनि साढे ६ बजे नै ठूलो पहिरो खसेपछि जोखिमका कारण पहिरो पन्छाउन रोकिएको भन्दै उनले पहिरो पन्छाउने काम आइतबार बिहानैदेखि सुरु गर्ने जानकारी दिए ।

शनिबार रातभर पहिरो नखसेको अवस्थामा आइतबार दिउँसो देखि यातायात सञ्चालन गर्न सकिने अनुमान गरिएपनि पहिरो निरन्तर गइरहेका कारण यातायात पन्छाउने कतिबेला सकिन्छ भन्ने यकिन नभएको एसपी पुरीले बताए ।
नारायणगढ–मुग्लिन सडकको तुइन खोला नजिक पहिरो खसेको कारण चितवन भएर गुड्ने एक हजारभन्दा बढी गाडी सडकमा अलपत्र परेका छन् । शुक्रबार दिउँसो ४ बजेदेखि नै रोकिएका यात्रुलाई खानेकुरा पानी लगायतको समस्या भएपछि शनिबार जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा यात्रुहरुलाई पानीसहित खानेकुुरा वितरण गरिएको थियो ।
मुग्लिन तर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भईरहेको हुँदा ३ वटा लोडर भएपनि सुरक्षाको दृष्टिकोणले निर्वाध रूपमा पहिरो हटाउनको लागि समस्या भएको मुग्लिन–नारयणगढ सडक आयोजनाले जनाएको छ । नारायणगढतर्फ बाट १ वटा लोडर १ वटा एक्साभेटर परिचालन गरि निरन्तर रूपमा पहिरो हटाउने कार्य भईरहेको आयोजनाले जनाएको छ । थप पहिरो खस्ने क्रम रोकिएको खण्डमा सबै उपकरणहरू प्रयोग गरि पहिरो हटाउन सहज हुने र छिटोभन्दा छिटो सवारी आवागमन सुचारू गर्नेमा प्रतिबद्ध रहेको आयोजनाले जनाएको छ ।












