काठमाडौं । कार्तिक १४
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक आइतबारसम्मको लागि स्थगित भएको हो।



बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेका थिए । संस्थापन इतर समूहको निष्कर्ष अनुसार पुस १६ गते नियमित महाधिवेशन गर्ने प्रस्ताव गर्ने महामन्त्री थापाले अडान खड्कासँगको भेटमा राखेका थिए ।
तर, महामन्त्रीलाई काउन्टर दिन संस्थापन पक्षबाट अर्को कार्यतालिका आउने अवस्था बनेपछि बैठक आइतबारसम्मलाई स्थगित गरिएको एक नेताले बताए ।
ती नेताले भने, ‘महाधिवेशनको दुईवटा कार्यतालिका आउने अवस्था बनेपछि त्यसलाई रोक्न बैठक सारिएको छ । अब शीर्ष तहमा थप छलफल हुन्छ ।’
आज बिहान महामन्त्रीद्वयले इतर पक्षका नेता डा। शेखर कोइरालाले आफूनिकट पदाधिकारीसँग छलफल गरेर कार्यतालिका अघि बढाउने जानकारी गराएका थिए ।
तर संस्थापन पक्षले भने फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नसक्ने भन्दै वैशाखमा गर्नुपर्ने पक्षमा छन् ।
कार्यतालिकामा सहमति नजुटेपछि महामन्त्री थापाले हिजो पनि महामन्त्री बैठक नै बहिस्कार गरेका थिए। तर, कावा सभापति खड्काले भने केन्द्रीय समितिले बहुमतको आधारमा निर्णय गर्ने जवाफ दिइसकेका छन्।
आज पनि महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेस गर्न नदिए सहभागी नहुने कावा सभापति खड्कालाई जानकारी गराएका थिए।












