तनहुँ । मंसिर ७
डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकताबाट ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ निर्माण गरिएको छ ।



आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो । पार्टीको चुनाव चिह्वन आँखा प्रस्ताव गरिएको छ । प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त रहेको पार्टीले समावेशी नेतृत्व र सामूहिक भावनाका साथ अघि बढ्ने उद्देश्य राखेको उल्लेख गरेको छ ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गरेको पार्टीमा १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ । दुर्गा सोवको नाममा पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले पाँच जना अध्यक्ष मण्डलको टुङ्गो लगाएको छ ।
आइतबार राष्ट्रिय सभा गृहमा एकता घोषणा गरेको प्रलोपाले अध्यक्ष मण्डलको टुङ्गो लगाएको हो । पाँच सदस्यीय अध्यक्ष मण्डलमा साविक नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानको संयोजनको भूमिकामा रहेका सुदन किराँती, रास्वपाबाट विद्रोह गरी आएका सन्तोष परियार, पूर्वमाओवादीका नेता अशोक जैसवाल र जेनजी अगुवा ओजस्वी भट्टराई रहेका छन् ।
अध्यक्षता गर्ने कार्यविधि सम्बन्धमा केन्द्रीय समितिले पूर्णता पाएपछि मात्र निर्णय हुने नेता अनिल शर्माले जानकारी दिए । ‘अहिले अध्यक्ष मण्डलमा रहने सदस्य मात्र टुङ्गो लागेको छ । पाँच जनामध्ये एकले नेतृत्व गर्ने हो । कति कति समयमा नेतृत्व फेरबदल हुने भन्नेबारे केन्द्रीय समितिले पूर्णता पाएपछि मात्र निर्णय हुन्छ’, उनले भने ।












