काठमाडौं । मंसिर ७
नेसनल भोलिन्टियर्स फोर्सले सुधन गुरुङलगायत जेनजीका नाममा भइरहेका अराजकता नरोके प्रतिरोध गर्ने चेतावनी दिएको छ । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै फोर्सले यस्तो चेतावनी दिएको हो ।



घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै फोर्सले आवश्यक कारबाही गर्न नेपाली कांग्रेसलाई पनि आग्रह गरेको छ । शनिवार मात्रै सुधन गुरुङ लगायतका समूहले एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर गुण्डागर्दी शैलीमा परिवारका सदस्यलाई धम्की दिएको विषयमा पनि ध्यानाकर्षण भएको फोर्सले जनाएको छ ।
फोर्सले बारामा भएको पछिल्लो घटनाप्रति आपत्ति जनाउँदै जेनजी अगुवा सुदन गुरुङ र सम्राट उपाध्यायलाई कारबाही गर्न माग गरेको छ । उक्त फोर्सका संयोजक पुष्पराज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सरकार लोकतन्त्रमा नभइ अराजकतामा विश्वास गर्ने र त्यसैलाई प्रशय दिने बाटोमा रहेको आरोप लगाएका छन् ।

‘…तसर्थ देश, जनता र पार्टी पङ्तिको सुरक्षाको लागि ‘जनताको सुरक्षा जनता मार्फत’ नै भन्ने उद्देश्यले स्थापना भएको हाम्रो संगठन हामी नेपालका सुदन गुरुङ र सम्राट उपाध्याय लगायत अराजक झुन्डहरूलाई यथाशीघ्र आवश्यक कारबाही अघि बढाउन जोडदार माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको, ‘साथै सरकारले उक्त घटनाको सवेदनशीलतालाई नबुझ्ने हो र अपराधीलाई उन्मुक्ति दिने हो परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी पनि दिन चाहन्छौं ।’
साथै, आइतबार एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि भएको बेलुन प्रहारप्रति पनि फोर्सले ध्यानाकर्षण गराएको छ । उक्त घटनामा संलग्न सञ्जोग गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई थप कारबाही नेविसंघले गरोस् भन्ने चाहना फोर्सले राखेको पनि श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।












