बन्दीपुर । मंसिर २१
तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई समितिको आयोजनामा गत मङ्सिर १० गतेदेखि भएको छैठौँ बन्दीपुर महोत्सव २०८२ आइतबार समापन भएको छ । करिब ५० हजार अवलोकनकर्ता आकर्षित गर्न सफल महोत्सवमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।



स्थानीय पर्यटन प्रवद्र्धन, हस्तकला र उत्पादनको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, फूड फेस्टिवल, साइकलिङ, प्याराग्लाइडिङ, राफ्टिङ, हर्स–राइडिङ लगायतका आकर्षणले महोत्सवलाई विशेष बनाउन योगदान पु¥याएको बताइएको छ । महोत्सव समापन कार्यक्रममा स्वागत मन्तव्य राख्दै तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई समितिका उपसभापति कर्णबहादुर श्रेष्ठले महोत्सवले स्थानीय पहिचान, उत्पादन र पर्यटन प्रवद्र्धनमा पु¥याएको बताए ।

महोत्सव समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेले बन्दीपुरको प्राकृतिक सौन्दर्य, पुरातात्विक संरचना र सांस्कृतिक सम्पदाले यसलाई अद्वितीय गन्तव्य बनाएको उल्लेख गर्दै महोत्सव पर्यटन मोडलका रूपमा स्थापित गर्ने दिशामा सहायक भएको टिप्पणी गरे ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर नेपालकै प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक रहेको र महोत्सवले त्यसलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा झनै परिचित बनाएको बताउँदै सबै राजनीतिक दल, स्थानीय निकाय र सरोकारवालालाई एकताबद्ध भएर पर्यटन विकासमा लाग्न आग्रह गरे । बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले महोत्सवले स्थानीय युवालाई अवसर, व्यवसायलाई बजार र गाउँपालिकालाई पर्यटन विकासको दिशामा प्रेरणा दिएको उल्लेख गरिन् ।
रिसिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया रानाले महोत्सवले क्षेत्रीय पर्यटन विस्तारका लागि सहयोग पु¥याएको भन्दै बन्दीपुर मात्र होइन, तनहुँ जिल्ला भरका स्थानीय तहहरूलाई समेत पर्यटनमा जोड्ने अवसर भएको बताइन् ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले ५ करोडभन्दा बढी कारोबार हुनु स्थानीय व्यापारी र उत्पादनमा महत्वपूर्ण ऊर्जा रहेको बताउँदै महोत्सवले बन्दीपुरलाई आर्थिक, सांस्कृतिक र पर्यटनिक सम्भावनाको केन्द्रका रूपमा उभ्याएको टिप्पणी गरे । बन्दीपुर केबलकारका इन्चार्ज लक्ष्मी सापकोटाले महोत्सवले बन्दीपुरको पर्यटन प्रवाह र केबलकारको सेवा विस्तारलाई थप उचाइमा पु¥याएको बताउँदै स्थानीय प्राकृतिक सुन्दरता र सांस्कृतिक पहिचानलाई लक्षित यस्ता कार्यक्रमले समग्र पर्यटन क्षेत्रलाई ऊर्जा प्रदान गर्ने बताए ।

बन्दीपुर भ्रमण वर्ष–२०२५ का सह–संयोजक लोकबहादुर बानियाँले महोत्सवले भ्रमण वर्षका तयारीलाई मौलिक रूपमा बलियो बनाएको उल्लेख गर्दै बन्दीपुरलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न सबै निकायको समन्वय आवश्यक रहेको विचार व्यक्त गरे ।
समापन कार्यक्रमका अध्यक्ष एवं तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईका सभापती घनश्याम उपाध्यायले १२ दिनको महोत्सव सफलतापूर्वक सम्पन्न गर्ने क्रममा साथ, सहयोग र सहभागिता जनाउने सबै प्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ आकर्षक र व्यवस्थित महोत्सव गर्ने प्रतिबद्धता व्यक्त गरे ।












