देवघाट जाने त्रिशुलीको झोलुङ्गे पुलमा मोटरसाईकल चलाउन रोक

Devghat Online

शेयर गरौ

देवघाट । मंसिर २९

चितवनको भरतपुर महानगर र तनहुँको देवघाट गाउँपालिका–५ जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुलमा मोटरसाईकल चलाउन रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त पुलमा मोटरसाईकल चलाउन रोक लगाएको हो ।

शहरी विकास मन्त्रालय अन्तर्गतको पुर्वाधार विकास विभाग सस्पेन्सन बृज डिभिजनको पत्रचार पछि जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिलाई पत्र लेख्दै उक्त झोलुङ्गे पुलमा मोटरसाईकल चलाउन रोक लगाउन अनुरोध गरेको हो । उक्त पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय तनहुँलाई समेत दिईएको छ ।

४४ वर्ष अघि निर्माण भएको उक्त पुल पछिल्लो समय निकै जिर्ण भईसकेको तथा मानिस मात्र आवतजावत गर्ने गरि डिजाईन गरिएको भन्दै पुल विभागले पछिल्लो समय अत्याधिक मात्रामा मोटरसाइकल चलाउन थालिएपछि सम्भावित दुर्घटना हुन नदिन मोटरसाईकलको आवत जावतमा रोक लगाउन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँ र चितवन, जिल्ला प्रहरी कार्यालय तनहुँ र चितवन, तथा भरतपुर महानगरपालिका, देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको नामा पत्र पठाई अनुरोध गरेको थियो ।

२०३७ सालमा निर्मित उक्त पुल जिर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । भिड हुँदा एकैपटकमा पाँच सय भन्दा बढिले पुलबाट आवत जावत गर्छन् । एकै पटकमा सयौंजनाले पुल तर्दा उक्त पुल पिङ झैं हल्लने गरेको स्थानीय बासिन्दा तथा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । यदि सो पुल केही भईहालेमा सयौं नागरिकको ज्यान जोखिममा पर्ने उनले बताए ।

देवघाटमा मेला हुने दिनमा दैनिक २५/३० हजार तथा अन्य सामान्य दिनमा दैनिक पाँच हजार भन्दा बढि सर्वसाधरणले उक्त झोलुङ्गे पुलबाट आवत जावत गर्छन् । साथै देवघाट गाउँपालिका–५ का करिब ८० प्रतिशत नागरिकले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दुरीको सोही पुल नै प्रयोग गर्दै आएका छन् । सोही पुलबाट दैनिक सयौं स्थानीयहरुले मोटरसाईकल पनि वारपार गर्दै पनि आएका छन् । हरेक वर्ष साउन महिनामा हुने बोलवम मेला, बालाचर्तुदशी, माघे संक्रान्ति मेला, औंशी, एकादशी, सुर्य ग्रहण, चन्द्र ग्रहण लगायतका धार्मिक पर्व तथा मेलाहरुमा दैनिक दशौं हजारले उक्त पुलबाट आवत जावत गर्छन् ।

देवघाट आउनकोलागि हाल उक्त झोलुङ्गे पुल बाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा मोटरेवल पुल सन्चालनमा रहेको तथा जुगेडीको झोलुङ्गे पुल पनि छ । तर देवघाट आउने भक्तजन मध्ये करिब ९५ प्रतिशत चितवनको आपँटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गरे ।

 

निर्माण भएयताको यो ४४ वर्षमा करिब ३ करोड भन्दा बढि भक्तजनले उक्त पुलबाट आवत जावत गरिसकेको पौडेलले दाबी गरे । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताए । अब जतिसक्दो चाँडो झोलुङ्गे पुलको विकल्प नखोज्ने हो भने कुनै पनि दिन ठुलो दुर्घटना हुने पौडेलले बताए । पौडेलले उक्त पुलको विकल्प तत्काल खोज्न नसक्ने हो भने उक्त पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाउनुपर्ने बताउँदै आएका थिए ।

राज्यले नागरिकलाई भयरहित वातावरणमा आवत जावत गर्न पाउने अधिकार उपलब्ध गराउनु पर्ने भन्दै पौडेलले जिर्ण भएको उक्त झोलुङ्गे पुलबाट यात्रा गर्नुपर्दा नागरिकमा डर र त्रास उत्पन्न हुने गरेको बताए । ‘अहिलेसम्म केही भएको छैन, तर कुनै दिन ठुलो दुर्घटना भएमा राज्यले ठुलो मुल्य चुकाउनुपर्छ’ पौडेलले भने समयमै उक्त पुलको आसपासमा पक्की पुल बनाउने कार्य सुरु नगर्ने हो भने कुनै पनि दिन ठुलो दुर्घटना नहोला भन्न सकिन्न ।’ नदी बेष्ठित देवघाटको धार्मिक पर्यटन तथा यस क्षेत्रको विकास गर्ने हो भने हालको झोलुङ्गे पुल नजिकै अर्काे मोटरेबल पुल नै आवश्यक भएको पौडेलको जोड छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पुल बर्षेनी मर्मत सम्भार मात्र गरेर नहुने भन्दै सो पुलको आसपासमा पक्की पुल निर्माणको थालनी हुनुपर्ने बताए । देवघाट धार्मिक पर्यटनको लागि देश बिदेशमा समेत प्रख्यात बन्दै गइरहेको हुँदा सरकारले देवघाट आउने भक्तजन र स्थानीय सर्वसाधरणको सुविधा र सुरक्षाको लागि पक्की पुल बनाउनु पर्ने अध्यक्ष थापाले बताए । पक्की पुल बनाउन गाउँपालिकाको श्रोत साधनले सम्भव नहुने हुँदा प्रदेश सरकार र संघीय सरकारले नै पहलकदमी लिनुपर्ने अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाले गाउँपालिकाले उक्त स्थानमा पुल बनाउनकोलागि गाउँपालिकाले माथिल्लो तहका सरकारसँग अनुरोध गर्ने बताए । तर माथिल्लो निकायसँग कुरा गर्दा उक्त स्थानमा पक्की पुल बनाउन अलि सम्भव नभएको उत्तर पाएको भन्दै अध्यक्ष थापाले सस्पेन्सन्स ब्रिज मार्फत नै सन्चालनमा रहेको उक्त झोलुङ्गे पुलको थप मर्मत सम्भार गरि अझै केही बर्ष निर्वाध रुपमा सन्चालन गर्न सकिने भन्दै पुलमा मोटरसाईकल चलाउन रोक लगाउनुपर्ने बताए ।

देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठले दैनिक ५ हजार जना वारपार गर्ने पुल जिर्ण भईसक्दा पनि संघीय सरकारको कुनै ध्यानाकर्षण नभएको र स्थानीय तहले पनि भुमिका खेल्न नसकेको बताए । ठिमुराको पुल नबन्दै हाल झोलुङ्गे पुल रहेको भन्दा करिब १ सय मिटर पुर्व तर्फ मोटरेवल पुल निर्माणकोलागि माटो परिक्षण भइसकेको श्रेष्ठले बताए । ‘तर दासढुङ्गामा मोटरेबल पुल बनेपछि राजनीतिक कारणले ठिमुरामा पनि पुल बनाईयो’ श्रेष्ठले भने ‘तर जहाँ आवश्यकता हो, त्यहाँ भने कनै वास्ता गरिएन ।’

ठिमुरामा पुल महसुश गर्ने सरकारले मुख्य ठाउँमा भने किन पुलको आवश्यकता देखेन भन्दै श्रेष्ठले प्रश्न गरेका छन् । जहाँ आवश्यकता हो, विकास पनि त्यही गर्नु पर्ने श्रेष्ठले बताए । जिर्ण भएको झोलुङ्गे पुलको बर्षेनी मर्मत सम्भार गरेर अव नचल्ने हुँदा जतिसक्दो चाँडो मोटरेवल पुल बनाउनु पर्ने उनले बताए ।

देवघाटका सामाजिक अगुवा गणेश थापाले पनि उक्त पुलको विकल्प खोज्नु पर्ने बेला भएको बताए । ‘जुन ठाउँमा पुल आवश्यक छ, त्यहाँ नबनाउने तर जहाँ आवश्यक नै छैन त्यहाँ पहुँचको आधारमा मोटरेबल पुल बनाउने प्रबृत्ति बढ्दै गएको छ ।’ थापाले भने अव सो ठाउँमा पक्की पुल बनाउनकोलागि देवघाटबासीले नै दवाव दिनुपर्ने बेला आएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सञ्चारमाध्यममा सरकारको आर्थिक नाकाबन्दीविरुद्ध पत्रकार महासंघ आन्दोलित

तनहुँ । चैत २८ नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयविरुद्ध संघीय संसद्मा