जथाभावी नाली फुटाएर फोहोर पानी मिसाएको भन्दै सडक आयोजनाको आपत्ती

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १६

शुक्लागन्डकी नगरपालिकाको खैरेनीटार, बेलचौतार र दुलेगौंडा बजार स्थित पृथ्वीराजमार्गका किनाराका घरधनीले जथाभावी नाली फुटाएर फोहोर पानी मिसाएको भन्दै मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) ले आपत्ती जनाएको छ । शुक्लागण्डकी नगरपालिका भित्रका सडक छेउका घरधनीले जथाभावी नाली फुटाएर फोहोर पानी मिसाएको भन्दै आयोजनाले आपत्ति जनाएको हो ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माणाधीन जामुने–पोखरा खण्डअन्तर्गत खैरेनीटार, बेलचौतारा र दुलेगौंडा क्षेत्रमा स्थानीयले नवनिर्मित संरचना बिगारेपछि आयोजनाले नगरपालिका र सम्बन्धित वडा कार्यालयहरूलाई पत्र पठाउँदै यस्तो कार्य रोक्न आग्रह गरेको छ ।

आयोजना प्रमुख कृष्णबहादुर कुँवरले मंसिर २१ गते शुक्लागण्डकी नगरपालिका तथा वडा नम्बर ४, ५, ६ र ७ का वडा कार्यालयलाई पत्र लेख्दै सार्वजनिक सम्पत्तिको नोक्सानी रोक्न पहलकदमीका लागि अनुरोध गरेका छन् । निर्माण व्यवसायीले बजार क्षेत्रमा ‘सर्भिस लेन’ बनाउँदै गर्दा स्थानीयले घरको ‘वेस्ट वाटर’ (फोहोर पानी) व्यवस्थापन गर्न भन्दै नाली फुटाउने र ‘सर्भिस लेन’ मा गाड्नका लागि खाडल खन्ने गरेको पाइएको जनाएका छन् ।

स्थानीयले ‘एचडिपिइ’ पाइपमार्फत घरको फोहोर पानी सडकको नालीमा जोड्ने गरेका छन् । यसका लागि उनीहरूले ‘सर्भिस लेन’ मा पाइप गाड्ने, नाली फुटाउने र निर्माण भइसकेको ‘सब–बेस’ समेत खन्ने गरेको आयोजनाले जनाएको छ । यस्तो क्रियाकलापले ‘सर्भिस लेन’ को दिगोपनामा असर पर्नुका साथै सार्वजनिक सम्पत्तिको क्षति भएको कुँवरले उल्लेख गरेका छन् ।
आयोजनाका अनुसार ‘सडक छेउको नाली वर्षायामको पानी व्यवस्थापन गर्न मात्र डिजाइन गरिएको हो, घरबाट निस्कने फोहोर पानीका लागि होइन । हाल निर्माण गरिएको नालीमा ‘कभर’ को व्यवस्था नभएको (सुरक्षाका लागि डब्लु–बिम क्र्यास ब्यारियर मात्र राखिएको) हुनाले फोहोर पानी नालीमा मिसाउँदा जम्ने, दुर्गन्ध फैलिने र अन्य रोगहरू लाग्ने जोखिम हुन्छ ।’
नगरपालिकाको अग्रसरतामा घरधनीले नै आफ्नो पानीको व्यवस्थापन गर्ने गरी पटकपटक छलफल भएको र पत्रमार्फत अनुरोध गरिएको भए पनि स्थानीयले अटेर गरेको आयोजनाको गुनासो छ । आयोजनाको अनुमतिबिना सडक खन्ने र सार्वजनिक सम्पत्तिमा नोक्सानी पु¥याउने कार्य सार्वजनिक सडक ऐन २०३१ विपरीत रहेको भन्दै आयोजनाले सचेत गराएको छ ।

साथै, आयोजनाले परामर्शदाता कम्पनीलाई सडकको नाली फुटाएर घरको फोहोर पानी मिसाउने घरधनीहरूको विवरण तयार पार्न निर्देशनसमेत दिएको छ । शुक्लागण्डकीको बेलचौतारा क्षेत्रमा सर्भिस लेनको काम सकिएर फुटपाथको काम भइरहेको छ । दुलेगौंडा क्षेत्रमा भने सर्भिस लेनमा पिचको काम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू