अमेरिकाद्वारा भेनेजुएलामा गरिएको हस्तक्षेप प्रति नेकपा मशालको आपत्ती

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २१

नेपाल कम्युनिष्ट पार्टी (मशाल) ले अमेरिकाले भेनेजुएलामा गरेको शैनिक हस्तक्षेप प्रति आपत्ती नाएको छ । नेकपा मशाल जिल्ला समिति तनहुँले सोमबार विज्ञप्ति प्रकाशिन गरि अमेरिकाले एक सार्वभौम र स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि गरेको पछिल्लो सैनिक हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोको अपहरणको कडा शब्दमा भ्रत्सना गरेको छ ।

‘विगत केही समयदेखि भेनेजुएला र संयुक्त राज्य अमेरिकाबीच चलिरहेको विवादले विश्व राजनीतिमा नयाँ र गम्भीर मोड लिएको छ । नेपाल कम्युनिस्ट पार्टी (मशाल), अमेरिकी साम्राज्यवादले एक सार्वभौम र स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि गरेको पछिल्लो सैनिक हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोको अपहरणको कडा शब्दमा भ्रत्सना गर्दछ ।’ नेकपा मशाल तनहुँ जिल्ला समितिका इन्चार्ज पुष्पलाल श्रेष्ठद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ‘विभिन्न सामाजिक सञ्जालहरूको रिपोर्ट अनुसार, अमेरिकी विशेष बलले ‘अपरेसन एब्सोल्युट रिजल्भ’ अन्तर्गत भेनेजुएलाको राजधानी कराकसमा हवाई आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई हाल न्युयोर्क लगिएको र त्यहाँ नार्काे–आतङ्कवादको आरोपमा मुद्दा चलाउने तयारी भइरहेको छ ।’

‘विश्वका धेरै देशहरूले यस कदमलाई ‘अन्तर्राष्ट्रिय समुद्री डकैत’ र सार्वभौम देशको आन्तरिक मामिलामाथिको नाङ्गो हस्तक्षेप भनेका छन् ।’ विज्ञप्तिमा भनिएको छ ‘भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई अन्तरिम राष्ट्रपतिको रूपमा नियुक्त गरे पनि, भेनेजुएलाको सुन र तेल स्रोतमावि नियन्त्रण जमाउने अमेरिकी रणनीति स्पष्ट देखिन्छ ।’
यो केबल भेनेजुएलाको मात्र समस्या होइन, अमेरिकाले मानवअधिकार र लोकतन्त्रको पाठ सिकाउने बहानामा साना र प्राकृतिक स्रोतले सम्पन्न देशहरूलाई आफ्नो अधीनमा राख खोजिरहेको छ नेकपा मशालले ठहर गरेको छ । ‘नेपालको सन्दर्भमा पनि राष्ट्रघाती एमसीसी परियोजनामार्फत नेपालको संसद् र कानुनलाई समेत चुनौती दिने काम भइरहेको छ’ मशालले विज्ञप्तिमा भनेको छ ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपि) मार्फत नेपाललाई सैन्य रणनीतिको हिस्सा वनाउने अमेरिकी साम्राज्यवादको प्रयास अझै जारी छन्, नेपालको जलविद्युत् र खनिज स्रोतमाथि साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको गिद्धे नजर परिरहेकै छ ।’

अमेरिकी सरकारले राष्ट्रपति निकोलस मादुरो र अन्य राजनीतिक बन्दीहरूलाई स–सम्मान तत्काल रिहा गर्नुपर्ने र भेनेजुएलाको सार्वभौमसत्ताको सम्मान गर्न मशालले अनुरोध गरेको छ । साथै नेपालमा लागु गरेको एमसीसी जस्ता राष्ट्रघाती सम्झौताहरू खारेज गरी असंलग्न परराष्ट्र नीतिको कडाइका साथ पालन गर्न पनि सो पार्टीले अनुरोध गरेको छ । विश्व स्तरको अवस्था र नेपालमा भइरहेको साम्राज्यवादी हस्तक्षेपका विरुद्धमा सम्पूर्ण देशभक्त नेपाली जनताहरू दलगत स्वार्थभन्दामाथि उठेर राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता जोगाउन एकजुट भई आन्दोलनमा होमिन नेकपा (मशाल) का तनहुँ जिल्ला इन्चार्ज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू