तनहुँमा एमालेबाट कसले पाउला टिकट ?

Devghat Online

शेयर गरौ

क्षेत्र नम्बर १ मा न्यौपाने, श्रेष्ठ र सुनार तथा क्षेत्र नम्बर २ मा गुरुङ र सिग्देल मध्ये एक

तनहुँ । पुस २२

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि तनहुँका दुबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ । सम्बन्धित क्षेत्रीय कमिटिको बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
गत शुक्रबार क्षेत्र नम्बर २ ले तथा शनिबार क्षेत्र नम्बर १ ले उम्मेदवारको नाम केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारकोलागि भगवती न्यौपाने, प्रतापलाल श्रेष्ठ, रामबहादुर गुरुङ, प्रेमकुमार राना, शोभा गुरुङ, मोहन सुनार, अनिल पाण्डे र पूर्णबहादुर गुरुङको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट केदार सिग्देल, किरण गुरुङ, नरेन्द्रराज वाग्ले, हरिराज कडेंल, राजेश्वर ढकाल, नारायण खनाल, रत्नादेवी घिमिरे, वावुराम सुनार, विष्णु अधिकारी पराजुली, रामचन्द्र उपाध्याय र चन्द्रकला पौडेलको नाम सिफारिस भएको छ ।

दुबै निर्वाचन क्षेत्रमा एक÷एक जनाले मात्र चुनाव लड्नको लागि टिकट पाउने भएपनि आवश्यक संख्या भन्दा निकै धेरै नाम पठाउँदा कसले टिकट पाउला भन्ने चासो बढेको छ । बैठकमा सबैलाई आफ्नो नाम टिपाउने अधिकार भएको हुँदा आकांक्षीहरुले व्यक्तिगत तवरबाट नाम टिपाएका थिए । ति सबै नामलाई क्षेत्रीय कमिटिले सिफारिस गरेको हो । दुबै निर्वाचन क्षेत्रबाट १९ जनाको नाम केन्द्रमा पुगेको छ । जति नै धेरै नाम केन्द्रमा पठाएपनि टिकट पाउने सम्भावना भएका नेता भने मुस्किलले आधा दर्जन पनि छैनन् ।

क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य भगवती न्यौपाने, पुर्व केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठ र गन्डकी प्रदेश कमिटिका सल्लाहाकार मोहन सुनार मध्येबाट एक जना र क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्यद्वय किरण गुरुङ र केदार सिग्देल मध्येबाट एक जनाले टिकट पाउने सम्भावना रहेको देखिन्छ ।

क्षेत्र नम्बर १ मा उम्मेदवारको आकांक्षी रहेकी केन्द्रीय सदस्य न्यौपाने हाल राष्ट्रिय सभाको सांसद हुन् । उनको कार्यकाल फागुन २१ गतेसम्म रहेको छ । यद्यपी माघ २१ गते हुने राष्ट्रिय सभाको चुनावबाट उनको स्थानमा अर्काे व्यक्ति चुनिएर आउँछ । न्यौपानेले टिकट पाएमा राष्ट्रिय सभाको ४५ दिन कार्यकाल बाँकी छँदै राजिनामा दिनुपर्ने हुन्छ । उनी यसअघि ५३ दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत भईन् । साउन १ गते मन्त्री नियुक्त भएकी उनी जेनजी समुहको आन्दोलनको कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मन्त्रीबाट बर्हिगमन भएकी थिइन् । न्यौपाने हालैसम्पन्न नेकपा एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । उनलाई क्षेत्र नम्बर १ को उम्मेदवारको रुपमा सबैभन्दा बलियो पात्रको रुपमा हेरिएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको निकटताको कारण पनि न्यौपानेले राष्ट्रिय सभाबाट राजिनामा दिएर प्रतिनिधि सभाको चुनाव लड्न आउने आँकलन गरिएको छ । यद्यपी एक एमाले नेताले राष्ट्रिय सभाको ४५ दिन कार्यकाल बाँकी छदै राजिनामा दिएर चुनाव लड्न आउनु न्यायसंगत नभएको भन्दै यस्तो अवस्थामा अर्काे नेतालाई मौका दिनुपर्ने बताए ।

क्षेत्र नम्बर १ कै अर्का आकांक्षी प्रतापलाल श्रेष्ठ नेकपा एमाले तनहुँको संगठन निर्माणमा धेरै दुख गर्ने मध्येका एक हुन् । पार्टी विभाजनको क्रममा उनी नेकपा एकिकृत समाजबादीमा लागेपनि बिचमै मुलघरमा फर्किएका थिए । एमालेमा हुँदा केन्द्रीय सदस्य रहेका उनी नेकपा एकिकृत समाजबादीमा पोलिट्व्युरो र पछि एमालेमा फर्किएपछि केन्द्रीय सल्लाहाकारको जिम्मेबारी थिए । हालैसम्पन्न एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपनि उनी पराजित भएका थिए । पार्टीको केन्द्रीय सदस्यमा पराजित भएपनि श्रेष्ठ जनतामा भने निकै परिचित र भिजेका नेतामा गनिन्छन् । एमाले पार्टी निर्माणमा लाग्दा श्रेष्ठ सशस्त्रद्वन्द्वको क्रममा तत्कालिन नेपाली सेनाबाट गिरफ्तारी र तत्कालिन बिद्रोही नेकपा माओवादीबाट अपहरणमा समेत परेका थिए । अपहरण पछि श्रेष्ठले माओवादी कार्यकर्ताबाट निकै कठोर यातना समेत पाएका थिए । श्रेष्ठ पार्टीमा कम अवसर पाउने मध्येमा गनिन्छन् । यसपटक क्षेत्र नम्बर १ को टिकट पाएमा आफुले चुनाव जित्ने उनले दाबी गरे ।

यसैगरि क्षेत्र नम्बर १ कै अर्का सम्भावित उम्मेदवार मोहनकुमार सुनार चिरपरिचित उद्योगी हुन् । उनले नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष समेत भएर आफ्नो राष्ट्रिय परिचय निर्माण गरिसकेका छन् । सुनार तनहुँ उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत हुन् । तनहुँ उद्योग वाणिज्य संघको चुनावमा नेपाली काँग्रेसका उम्मेदवार सुर्यनाथ खनाललाई पराजित गरेपछि उनी चर्चाको केन्द्रमा आएका थिए । दलित हक अधिकारको क्षेत्रमा समेत सुनारले उल्लेख्य काम गरेका छन् । सुनारको नाम २०८० को उपनिर्वाचनको क्रममा पनि चर्चामा आएको थियो । एमालेले पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएपछि सुनार पछि हटेका थिए । पार्टीले आफुलाई टिकट दिएमा जिल्लाका सिङ्गो दलित समुदायको प्रतिनिधित्व र अन्य समुदायको साथ र समर्थनमा आफु बिजयी हुने उनले दाबी समेत गरेका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्यद्वय किरण गुरुङ र केदार सिग्देल मध्ये एकले टिकट पाउने निश्चित जस्तै छ । गुरुङ पुर्व स्थायी कमिटि सदस्य तथा गन्डकी प्रदेशका इन्चार्ज समेत हुन् । उनी एमाले महाधिवेशनमा खुला क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । गुरुङ अव पनि एमालेको स्थायी कमिटि सदस्य बन्ने निश्चित छ । किरण गुरुङ यसअघि २०६४ को संविधान सभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट बिजयी भएका थिए । सोही वर्ष उनी वन तथा भु–संरक्षण मन्त्री समेत बने । २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा ख निर्वाचन क्षेत्रबाट बिजयी भएका उनी गन्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्री समेत बनेका थिए । गन्डकी प्रदेशको अर्थमन्त्री हुँदा उनले तनहुँको विकास निर्माणकोलागि उल्लेख्य बजेट बिनियोजन गरेका थिए । गुरुङ २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेपनि गठबन्धनको उम्मेदवार नेपाली काँग्रेसका शंकर भण्डारीसँग पराजित भएका थिए । गुरुङलाई पार्टीले यसपटक राष्ट्रिय सभामा पठाउने तयारी गरेको समेत बुझिएको छ । राष्ट्रिय सभामा काँग्रेस र नेकपा एमाले विच गठबन्धन भएमा गन्डकी प्रदेशमा एमालेले पाउने एक सिटमा गुरुङलाई पठाउने तयारी भएको एमाले श्रोतले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचनमा पुस २५ गते मनोनयन गर्ने कार्यतालिका रहेको छ । सोही बेलासम्म गुरुङको राजनीतिक भविष्य प्रष्ट भईसक्छ । राष्ट्रिय सभामा नगए तनहुँ क्षेत्र नम्बर २ को उम्मेदवारको प्रमुख दावेदार गुरुङ हुनसक्छन् ।

यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य केदार सिग्देल पनि तनहुँ क्षेत्र नम्बर २ को उम्मेदवारको एक दावेदार हुन् । सिग्देल २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । सो बेला नेकपा एमाले तनहुँको अध्यक्ष रहेका सिग्देलको नेतृत्वमा तनहुँमा बाम गठबन्धनले क्लिन स्विप गरेको थियो । सिग्देल २०७९ को निर्वाचनमा भने क्षेत्र नम्बर २ को प्रदेश सभा ख मा नेपाली काँग्रेसका जितप्रकाश आलेसँग झिनो मतान्तरले पराजि भएका थिए । उनी हालैसम्पन्न नेकपा एमालेको महाधिवेशनमा गन्डकी प्रदेशको भुगोल क्षेत्रबाट केन्द्रीय सदस्यमा बिजयी भएका थिए । सिग्देललाई कार्यकर्तामाझ राम्रो पडक भएको नेताको रुपमा चिनिन्छ । क्षेत्र नम्बर २ का अर्का दाबेदार केन्द्रीय सदस्य किरण गुरुङलाई पार्टीले राष्ट्रिय सभाको उम्मेदबार बनाएमा प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ मा सिग्देल एकल दाबेदार रहनेछन् । यस्तो अवस्थामा उनी एमालेको तर्फबाट उम्मेदवार बन्ने निश्चित हुन्छ ।

माथी उल्लेख गरिएका सबै उम्मेदवारको सम्भावित पात्रहरु हुन् । निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) विच देशभर गठबन्धन गर्ने प्रयास भईरहेको छ । यदी यि तिनपार्टीहरु विच गठबन्धन भएमा उम्मेदवार बन्नेहरु फेरबदल समेत हुन सक्ने देखिन्छ । तनहुँका २ निर्वाचन क्षेत्र मध्ये एउटामा नेपाली काँग्रेस तथा एउटामा नेकपा एमालेका उम्मेदवार पनि हुनसक्छन् भने २०७९ को निर्वाचनमा जुन क्षेत्रमा जुन पार्टीले जितेको छ, सो क्षेत्र त्यही पार्टीलाई छोड्ने गरि नेताहरु विच छलफल समेत भईरहेको हुँदा तनहुँका दुबै निर्वाचन क्षेत्र नेपाली काँग्रेसले पाउने र एमाले र नेकपा शुन्य हुने अवस्था पनि हुनसक्ने बताईएको छ । त्यसकोलागि भने माघ ६ गतेसम्म पर्खनुपर्ने हुनसक्छ । लोकवाणी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको