देवघाट । पुस २३
चितवनको भरतपुर महानगर र तनहुँको देवघाट गाउँपालिका–५ जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुलमा चार दिन आवत जावत गर्न रोक लगाईएको छ । माघे संक्रान्तिलाई लक्षित गरि पुल मर्मत सम्भार गर्नकोलागि पुस २४ गतेदेखी पुस २७ गतेसम्म विहान १० बजेदेखी ४ बजेसम्म पुर्णरुपमा आवत जावत गर्न रोक लगाईएको हो । शहरी विकास मन्त्रालय अन्तर्गतको पुर्वाधार विकास विभाग सस्पेन्सन बृज डिभिजन ललितपुरले उक्त पुल मर्मत सम्भार गर्न लागेको हो ।



४४ वर्ष अघि निर्माण भएको उक्त पुल पछिल्लो समय निकै जिर्ण भईसकेको तथा मानिस मात्र आवतजावत गर्ने गरि डिजाईन गरिएको भन्दै पुल विभागले पछिल्लो समय अत्याधिक मात्रामा मोटरसाइकल चलाउन थालिएपछि सम्भावित दुर्घटना हुन नदिन केही दिन यता मोटरसाईकल आवत जावतमा रोक लगाईएको छ ।
२०३७ सालमा निर्मित उक्त पुल जिर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । भिड हुँदा एकैपटकमा पाँच सय भन्दा बढिले पुलबाट आवत जावत गर्छन् । एकै पटकमा सयौंजनाले पुल तर्दा उक्त पुल पिङ झैं हल्लने गरेको स्थानीय बासिन्दा तथा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । यदि सो पुल केही भईहालेमा सयौं नागरिकको ज्यान जोखिममा पर्ने उनले बताए । देवघाटमा मेला हुने दिनमा दैनिक २५/३० हजार तथा अन्य सामान्य दिनमा दैनिक पाँच हजार भन्दा बढि सर्वसाधरणले उक्त झोलुङ्गे पुलबाट आवत जावत गर्छन् ।

साथै देवघाट गाउँपालिका–५ का करिब ८० प्रतिशत नागरिकले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दुरीको सोही पुल नै प्रयोग गर्दै आएका छन् । हरेक वर्ष साउन महिनामा हुने बोलवम मेला, बालाचर्तुदशी, माघे संक्रान्ति मेला, औंशी, एकादशी, सुर्य ग्रहण, चन्द्र ग्रहण लगायतका धार्मिक पर्व तथा मेलाहरुमा दैनिक दशौं हजारले उक्त पुलबाट आवत जावत गर्छन् । देवघाट आउनकोलागि हाल उक्त झोलुङ्गे पुल बाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा मोटरेवल पुल सन्चालनमा रहेको तथा जुगेडीको झोलुङ्गे पुल पनि छ । तर देवघाट आउने भक्तजन मध्ये करिब ९५ प्रतिशत चितवनको आपँटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गरे ।
निर्माण भएयताको यो ४४ वर्षमा करिब ३ करोड भन्दा बढि भक्तजनले उक्त पुलबाट आवत जावत गरिसकेको पौडेलले दाबी गरे । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताए । अब जतिसक्दो चाँडो झोलुङ्गे पुलको विकल्प नखोज्ने हो भने कुनै पनि दिन ठुलो दुर्घटना हुने पौडेलले बताए । पौडेलले उक्त पुलको विकल्प तत्काल खोज्न नसक्ने हो भने उक्त पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाउनुपर्ने बताउँदै आएका थिए ।












