तनहुँका तिमिल्सेना र गोरखाकी सम्झना राष्ट्रिय सभाको उम्मेदवार

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २३

नेपाली कांग्रेसले प्रा.डा जगत् तिमिल्सिनालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ । तनहुँको शुक्लागन्डकी नपा–७ स्थायी घर भएका तिमिल्सिनालाई गन्डकी प्रदेशको अन्य क्लष्टरबाट उम्मेदवार बनाएको हो ।

त्रिभुवन विश्वविद्यालयको उच्च पदस्थ नियुक्ति तथा प्राध्यापक संघको राजनीतिमा जगत प्रभावशाली मानिन्छन् । उनी लामो समयदेखि विश्वविद्यालयको शैक्षिक तथा साङ्गठनिक राजनीतिमा सक्रिय रहँदै आएका छन् । तिमिल्सिना त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय अध्यक्ष समेत हुन् । लोकतन्त्रवादी प्राध्यापकहरूमाझ राम्रो पकड र प्रभाव राख्ने व्यक्तिका रूपमा उनी परिचित छन् ।

नेपाली काँग्रेसले तनहुँ जिल्ला र गन्डकी प्रदेश समितिबाट सिफारिसमा नै नपरेका तिमिल्सिनाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निकट भएकै कारण राष्ट्रिय सभाको टिकट हात पारेका हुन् । उनले टिकट पाएपछि तनहुँ काँग्रेसमा तरङ्ग आएको छ । तनहुँका प्रभावशाली नेताहरुलाई पन्छाएर उनले टिकट पाएपछि तनहुँ काँग्रेसका कार्यकर्ताहरु अचम्मित भएका छन् । कतिले त उनी को हुन् भनेर राजनीतिक पृष्ठभुमी समेत खोज्न थालेका छन् ।

यसैगरी गन्डकी प्रदेशमै नेकपा एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य रहेकी उनी यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाकै चुनावमा उम्मेदवार बनेर पराजित भएकी थिइन् । गण्डकी प्रदेशका ११ जिल्लामध्ये जनाधारको हिसाबले कमजोर मानिने गोरखाबाट एमालेले यस पटक विजयी हुने सुविधासहित देवकोटालाई मौका दिएको हो । गोरखा नगरपालिका–३ नारेश्वरकी देवकोटा २०४५ मा अनेरास्ववियुको सदस्यता लिँदै ०४७ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीतिमा होमिएकी थिइन् ।

अनेरास्ववियुमा गोरखा क्याम्पसको इकाइमा सक्रिय देवकोटा तत्कालीन नारेश्वर गाविसको गाउँ कमिटी, इलाका नम्बर २ को इलाका कमिटी, क्षेत्रीय संयोजक, क्षेत्रीय कमिटी सदस्य बनिन् । २०६३ मा एमालेको क्षेत्रीय कमिटी सचिव बनेकी देवकोटा ०६६ सालमा एमाले गोरखाको सचिवमा निर्वाचित भएकी थिइन् । तत्कालीन समयमा एमालेमा देशभरका दुई महिला सचिवमध्ये देवकोटा एक थिइन् । ०६८ मा पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, अञ्चल कमिटी सदस्य हुँदै ०७८ को दसौं महधिवेशनबाट देवकोटा एमालेको केन्द्रीय सदस्य बनिन् । २०७९ असारमा केन्द्रीय संगठन विभागको सचिवको जिम्मेवारी लिएर देवकोटाले काम गरिसकेकी छिन् ।

राष्ट्रिय सभाको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । काँग्रेस र एमालेको गठबन्धनपछि राष्ट्रिय सभाको सबै पदमा यिनीहरुकै उम्मेदवारको जित निश्चित मानिएको छ । यद्यपी नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा पनि उम्मेदवारी भने दिएको छ । गन्डकी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अन्य समुहबाट मनाङका कपिल लामा र महिलाबाट कास्कीकी गोमा घिमिरेले उम्मेदवारी दिएका छन् ।

गन्डकी प्रदेशशबाट राष्ट्रिय सभाका सांसद रहेका नेकपा एमालेका भगवती न्यौपाने र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नारायणकाजी श्रेष्ठको पदावधि सकिएपछि रिक्त दुई स्थानमा चुनाव हुन लागेको हो । गण्डकीमा ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तहका प्रमुख र उपप्रमुखहरु मतदाता छन् । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ ।

गण्डकी प्रदेशमा कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४३१ हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये कांग्रेसबाट ६६ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २५२ पुग्छ । २२ सांसद रहेको एमालेको प्रदेशसभामा १ हजार १६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३३० मतभार हुन्छ । दुवै दलको मतभार जोड्दा ५ हजार १८१ पुग्छ । यो मतभार दुईतिहाइ भन्दा बढी हो ।

गण्डकीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरुको मतभार ९४१ मात्रै हुन्छ । यस्तै राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ । स्थानीय तहमा ४ वटा पद जनमोर्चाले जितेको थियो । राप्रपासँग १०६ मतभार छ । प्रदेशसभामा दुई सांसद राप्रपाका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको पनि एक सांसद छन् । उक्त दलको ५३ मतभार हुन्छ । उनीहरू कतै पनि खुलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू