निर्वाचन आयोगले भन्योः उम्मेदवारको मनोनय दर्ता माघ ६ गते, १३ कागजपत्र बुझाउनुपर्ने

Devghat Online

शेयर गरौ

काठमाडौं । माघ ४

निर्वाचन आयोगले आगामी फागुन २१ लाई तय भएको निर्वाचनको मनोनयन दर्ता माघ ६ सम्ममात्र रहेको स्मरण गराएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको उल्लेख गर्दै मनोनयन दर्ता गर्ने उम्मेदवारले बुझाउनुपर्ने कागजपत्रको फेहरिस्ता पनि उल्लेख गरेको छ ।

आयोगका अनुसार निर्वाचनमा सहभागी हुने उम्मेदवारले मनोनयन दर्ता गर्दा विभिन्न १३ प्रकारका कागजपत्र बुझाउनुपर्ने उल्लेख छ । आयोगले उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातका सम्बन्धमा सुचना प्रकाशन गरि जानकारी गराएको छ ।

उम्मेदवारी दर्ता गर्नेले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, उम्मेदवारी दिदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहवाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा तथा उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम बुझाउनु पर्नेछ ।

त्यस्तै प्रचलित कानुन बमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहिछाप गरेको मनोनयन पत्र, दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र। तर एकल चुनाव चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र, प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर। तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ (आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रुपमा विपन्न भनी सिफारिस गरेको पत्र) पनि बुझाउनुपर्ने छ ।

यस्तै उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १८ सँग सम्बन्धित अनुसूची–६ बमोजिमको स्वघोषणा पत्र, उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २१ सँग सम्बन्धित अनुसूची–९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलवन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण, उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची–१० बमोजिम भरिएको वैयक्तिक विवरण फाराम, उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनित वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फछ्यौट भएको व्यहोराको निस्सा, लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानी साथ असुल उपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो वेरुजु फछर्योट गरेको निस्सा तथा निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–३ बमोजिमको प्रतिवद्धता पत्र पनि बुझाउनुपर्ने निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू