तनहुँका दुबै क्षेत्रमा उम्मेदवारी दर्ता, क्षेत्र नम्बर १ मा १६ जना र क्षेत्र नम्बर २ मा १२ जना उम्मेदवार

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ६

तनहुँका दुबै निर्वाचन क्षेत्रमा मंगलबार शान्तीपुर्ण रुपमा उम्मेदवारको मनोनयन सम्पन्न भएको छ । क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौली र क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय शुक्लागन्डकीमा उम्मेदवारहरुको मनोनयन दर्ता गरिएको थियो ।

क्षेत्र नम्बर १ मा ३ स्वतन्त्र सहित १६ जनाले उम्मेदवारी दिएका छन् । सबैभन्दा पहिले स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले उम्मेदवारी दिएका थिए । त्यसपछि क्रमशः मंगोल नेशनल अर्गनाईजेशनका प्रेमबहादुर थापा, नेपाल जनमुक्ती पार्टीका यामबहादुर आले, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकाल, नेशनल रिपब्लिक नेपालका सुमन थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशी, उज्यालो नेपाल पार्टीका मन्जिल राना, श्रम संस्कृती पार्टीका काशिराम गुरुङ, नेकपा एमालेका भगवती न्यौपाने, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले, नेपाली काँग्रेसका गोविन्द भट्टराई, स्वतन्त्र उम्मेदवार सन्देश रानाभाट लौडारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का ओमविक्रम पन्त र स्वतन्त्र उम्मेदवार लेखनाथ खनाल रहेका छन् ।

क्षेत्र नम्बर १ का १६ जना उम्मेदवार मध्ये नेकपा एमालेका न्यौपाने र नेमकिपाकी दुवाल मात्रै महिला र बाँकी १४ जना पुरुष उम्मेदवार रहेका छन् । त्यस्तै ३ जना बाहिरी जिल्लाका रहेका छन् । बाहिरी जिल्ला घर हुनेमा कन्चनपुरको बेलौरी नपा घर भएका राप्रपाका जोशी, भक्तपुर घर भएकी नेमकिपा रामलक्ष्मी दुवाल र गोरखा घर भएका राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले रहेका छन् ।

क्षेत्र नम्बर १ मा २०८० को उपनिर्वाचनका पुरानै प्रतिश्पर्धी भेट भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका डा.वाग्ले र नेपाली काँग्रेसका भट्टराई उपनिर्वाचनका प्रतिश्पर्धी हुन् । सो निर्वाचनमा रास्वपाका वाग्ले बिजयी भएका छन् । यसपटक उनीहरुलाई नेकपा एमालेकी भगवती न्यौपानेले टक्कर दिने भएकी छिन् । पुर्वमन्त्री समेत भईसकेकी स्पष्टवक्ता र तनहुँका जनतामाझ लोकप्रिय रहेकी न्यौपानेले वाग्ले र भट्टराईलाई हराई आफु बिजयी हुने दावी गरेकी छिन् ।

यसैगरि क्षेत्र नम्बर २ मा १२ जनाले उम्मेदवारी दिएका छन् । सबैभन्दा पहिले राष्ट्रिय जनमुक्ती पार्टीका लालबहादुर सार्की (गोतामे)ले उम्मेदवारी दर्ता गरे । त्यसपछि क्रमशः राष्ट्रिय प्रजातन्त्र पार्टीका यमबहादुर ठकुरी, नेपाल जनमुक्ती पार्टीका पुर्णबहादुर राना, नेकपा एमालेका केदार सिग्देल, मंगोल नेशनल अर्गनाइजेशनका सुष्मा आले, नेशनल रिपब्लिक नेपालका नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का गणेशबहादुर गोतामे, उज्यालो नेपाल पार्टीका मनराज गुरुङ र नेपाली काँग्रेसका शंकर भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । उक्त क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेशनका सुष्मा आले मात्रै महिला उम्मेदवार रहेकी छिन् ।

तनहुँ क्षेत्र नम्बर २ मा २०७४ का प्रतिश्पर्धी नेकपा एमालेका केदार सिग्देल र नेपाली काँग्रेसका शंकर भण्डारी यसपटक भेट भएका छन् । २०७४ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका सिग्देलले भण्डारीलाई पराजित गरेका थिए । २०७९ मा भने एमालेका किरण गुरुङलाई पराजित गरि नेपाली काँग्रेसका भण्डारी बिजयी भएका थिए । उक्त निर्वाचनमा सिग्देल प्रदेश सभामा उम्मेदवार बनेका थिए । तर यसपटक सिग्देल र भण्डारीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपानेले टक्कर दिने भएका छन् । इन्जिनियर पृष्ठभुमीका न्यौपाने पछिल्लो समय क्षेत्र नम्बर २ मा आक्रामक ढङ्गले चुनावी प्रचारमा व्यस्तछन् ।

उम्मेदवारी दर्ता गर्नको लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले दल तथा स्वतन्त्र उम्मेदवाहरुलाई छुट्टाछुट्टै समय निर्धारण गरेको थियो । निर्वाचन कार्यक्रम अनुसार माघ ७ देखी ९ गतेसम्म उम्मेदवाहरुको दावी विरोध र नाम फिर्ता गर्ने कार्यतालिका रहेको छ भने माघ १० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू