प्रतिनिधि सभा निर्वाचनः मंगलबार उम्मेदवारको मनोनयन दर्ता

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ५

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकोलागि मंगलबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । विहान १० बजेदेखी साँझ ५ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको छ । क्षेत्र नम्बर १ को लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौली र क्षेत्र नम्बर २ को लागि शुक्लागन्डकी नगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुको मनोनयन दर्ता हुनेछ । निर्वाचन कार्यक्रम अनुसार मंगलबार साँझ ५ बजे देखि ७ बजेसम्म दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा सहभागी हुने उम्मेदवारले मनोनयन दर्ता गर्दा विभिन्न १३ प्रकारका कागजपत्र बुझाउनुपर्ने उल्लेख छ । आयोगले उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातका सम्बन्धमा सुचना प्रकाशन गरि जानकारी गराएको छ ।

उम्मेदवारी दर्ता गर्नेले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, उम्मेदवारी दिदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहवाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा तथा उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम लगायतका कागजात बुझाउनु पर्नेछ ।

निर्वाचनको लागि प्राय सबै दलहरुले उम्मेदवार छनौट गरिसकेका छन् । नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र क्षेत्र नम्बर २ मा शंकर भण्डारीको सम्भावना भएपनि यो समाचार तयार पार्दासम्म नेपाली काँग्रेसले तनहुँका उम्मेदवारको टुंगो लगाईसकेको छैन ।

त्यसैगरि नेकपा एमालेबाट क्षेत्र नम्बर १ मा भगवती न्यौपाने र क्षेत्र नम्बर २ मा केदार सिग्देलले उम्मेदवारी दिने भएका छन् ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट क्षेत्र नम्बर १ बाट विद्यानाथ ढकाल र क्षेत्र नम्बर २ मा सोमबहादुर थापाले उम्मेदवारी दिने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले र क्षेत्र नम्बर २ मा श्रीराम न्यौपानेले उम्मेदवारी दिने भएकाछन् ।

त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट क्षेत्र नम्बर १ मा अभिषेकराज जोशी र क्षेत्र नम्बर २ मा यमबहादुर खाँड ठकुरीले उम्मेदवारी दिने भएका छन् ।नेपाली काँग्रेसमा आवद्ध रहेका ठकुरी राप्रपा प्रवेश गरि क्षेत्र नम्बर २ को उम्मेदवार बनेका हुन् ।

उज्यालो नेपाल पार्टीबाट क्षेत्र नम्बर १ मा मन्जिल राना र क्षेत्र नम्बर २ मा मनराज गुरुङले उम्मेदवारी दिनेछन् ।

त्यसबाहेक हर्क साम्पाङको श्रम संस्कृती पार्टी, बाबुराम भट्टराईको प्रलोपा, नेशनल मंगोल अर्गनाईजेशन, नेमकिपा लगायत दल तथा केही स्वतन्त्र व्यक्तिहरुले पनि दुबै निर्वाचन उम्मेदवारी दिनेछन् । जोशी समुहबाट क्षेत्र नम्बर १ मा दिपकराज जोशी र क्षेत्र नम्बर २ मा नरेन्द्र थापाले उम्मेदवारी दिनेछन् ।

प्रमुख दलहरुलाई उम्मेदवारी दर्ताकोलागि समय निर्धारण

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले मुख्य राजनीतिक दलहरुकोलागि उम्मेदवारी दर्ताकोलागि समय निर्धारण गरेको छ । दलहरुसँगको बैठक पछि कसैको पनि समय नजुधोस् भनेर छुट्टाछुट्टै समय निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार १२.३० बजे नेशनल मंगोल अर्गनाइजेशन, १ बजे उज्यालो नेपाल, १.१५ बजे राष्ट्रिय जनमुक्ती पार्टी, १.३० बजे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), १.४५ बजे नेपाली कम्युनिष्ट पार्टी (नेकपा), २.३० बजे नेकपा एमाले, ३.१५ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), ४ बजे नेपाली काँग्रेस र ४.३० बजे नेपाली कम्युनिष्ट पार्टी (माओवादी) को लागि समय निर्धारण गरिएको छ । त्यसबाहेक अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुकोलागि उक्त समय नजुध्ने गरि समय व्यवस्थापन गरिने जिल्ला निर्वाचन अधिकारी लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय