तनहुँ । माघ ८
नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भगवती न्यौपानेले आफ्नो सम्पूर्ण जीवन देश र जनताको सेवामा समर्पण गरेको बताएकी छन् । प्रेस चौतारी तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले व्यक्तिगत स्वार्थका लागि कहिल्यै राजनीति नगरेको स्पष्ट पारिन् ।



‘मैले मेरो व्यक्तिगत जीवनका लागि केही गरेकी छैंन, जे जति गरेकी छु, देश र जनताका लागि नै गरेकी छु,’ उनले भनिन् । जल्लामा रहँदा पार्टीका विभिन्न तहमा रहेर जनताको सुख–दुःखमा सधैं तयार रहेको उल्लेख गर्दै उनले आफ्नो जीवनको अधिकांश समय यही माटोमा पसिना बगाएर बिताएको बताइन् । आर्थिक प्रलोभनका कारण राजनीतिमा नआएको स्पष्ट पार्दै न्यौपानेले आफूमा राष्ट्रप्रति गहिरो प्रेम रहेको बताइन् । ‘राष्ट्र र जीवनमध्ये कुनै एक रोज्नुपरे म अहिले नै राष्ट्र रोज्छु र आफ्नो जीवन त्याग्न तयार छु,’ उनले भावुक हुँदै भनिन् ।
राष्ट्रिय सभामा रहँदा देशको हितमा नीति तथा कानुन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको न्यौपानेले दाबी गरिन् । राष्ट्रिय सभामा निर्वाह गरेको भूमिकालाई पार्टीले नजिकबाट अवलोकन गरेपछि नै प्रतिनिधिसभा उम्मेदवार बन्ने अवसर प्राप्त भएको उनको भनाइ छ । न्यौपानेले मुलुकको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका लागि सधैं अग्रपंक्तिमा रहेर काम गरेको उल्लेख गरिन् । देश, जिल्ला विकास तथा संविधानको रक्षाका लागि राष्ट्रिय सभामा रहँदा पटक–पटक आवाज उठाउँदै आएको पनि उनले स्मरण गराइन् ।
वर्तमान अवस्थामा देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा अत्यन्त आवश्यक रहेको बताउँदै उनले मुलुकलाई संकटबाट जोगाउन आफूमा चाहना र अनुभव दुवै रहेको दाबी गरिन् । तनहुँको माटोसँग आफू गहिरोसँग परिचित रहेको उल्लेख गर्दै न्यौपानेले जिल्लाको प्रत्येक सुख–दुःखमा सधैं साथ दिएको बताइन् । यसै कारण तनहुँको समग्र विकासका लागि महत्वपूर्ण योगदान गर्न सक्ने विश्वास व्यक्त गरिन् । साथै, मन्त्री पदमा रहँदा कर्मचारी प्रशासन सुधारका लागि उल्लेखनीय भूमिका खेलेको स्मरण गर्दै अधुरा रहेका कामलाई निरन्तरता दिन प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको उनले प्रष्ट पारिन् ।

यसैगरि न्यौपानेले देशको राष्ट्रिय स्वाधिनता जोगाउने अभियानकोलागि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् अहिले भु–राजनीतिक चलखेल निकै बढेको भन्दै राष्ट्रिय स्वाधिनता जोगाउने अभियान अन्तर्गत आफुले उम्मेदवारी दिएको बताइन् । देशको स्वाभिमान जोगाउन लाग्नेहरुको विरुद्ध अहिले चौतर्फी आक्रमण भईरहेको भन्दै न्यौपानेले देशको स्वामिान र स्वाधिनता जोगाउन आफु लागि पर्ने बताइन् ।
सांसदको रुपमा देशको स्वाधिनता जोगाउने अभियानसँगै तनहुँको विकास निर्मााण र यहाँका जनताको सुख दुखमा साथ दिने प्रतिबद्धताका साथ आफु चुनावी मैदानमा आएको उनले बताइन् । राष्ट्रिय सभाको सांसदको रुपमा आफुले कानुन निर्माणसँगै तनहुँको विकासमा दत्तचित्त भएर लागि परेको उनको भनाई थियो । जुनसुकै पार्टीका नेताहरुले पनि आफुलाई अनुरोध गुर्न भएको र आफुले कुनै पुर्वाग्रह नराखी काम गरेको न्यौपानेले बताइन् ।
त्यसबाहेक छोटो समयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा उक्त मन्त्रालय भित्र रहेका विकृती र विसंगती हटाई कर्मचारी प्रशासनमा भएका असमानता हटाउन लागेको न्यौपानेले बताइन् । विशेषगरि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय हटाउने काममा आफुले जोखिम मोलेको न्यौपानेले बताइन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत राखेर स्थानीय तहमा हुने गरेको विकृती र बिसंगती हटाउन आफुले निमित्तको प्रथा हटाएको उनले बताइन् । त्यसबाहेक कर्मचारी सरुवामा चक्रिय प्रणालीको व्यवस्था, गुनासो सुनुवाईको व्यवस्था, निजामती कर्मचारी बिधेयक आदि काम छोटो समयमा गर्न सकेको उनले बताइन् ।
मन्त्री हुँदा तनहुँको क्षेत्र नम्बर १ अन्तर्गत बन्दिपुर, आबुँखैरेनी र देवघाटका केही वडाका नागरिकलाई सेवा दिन सराङघाटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने पहल सुरु गरेको तर त्यसलाई पुरा गर्न नसकिएको भन्दै न्यौपानेले अव सराङघाटमा इलाका प्रशासन खोल्ने आफ्नो सपना पुरा गर्ने उनले बताइन् ।
तनहुँको विकासकोलागि हालसम्म हुन नसकेका कामहरुलाई पुरा गर्न आफु यसपटक प्रतिनिधि सभामा उम्मेदवार बनेको भन्दै न्यौपानेले आफ्नो त्यो अभियानमा तनहुँ क्षेत्र नम्बर १ का जनताले साथ दिने उनले विश्वास व्यक्त गरिन् ।












