दमौली । माघ ८
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीले श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ विषयक वैज्ञानिक एवं व्यावहारिक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । महाशिवरात्री पर्व–२०८२ को पावन अवसरमा सनातन संस्कृति र ज्ञान–योगको सर्वोच्च ग्रन्थ श्रीमद्भगवद् गीताको महत्व र महिमा सहित यसको वैज्ञानिक एवं व्यावहारिक प्रवचनबाट दमौली क्षेत्र एवं आसपास नागरिकलाई ज्ञान–योगले सिञ्चित गराउने उद्येश्यले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दमौली शाखाले श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ विषयक वैज्ञानिक एवं व्यावहारिक प्रवचन कार्यक्रम आयोजनागर्न लागेको हो ।




विहिबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरि ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीले उक्त श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ कार्यक्रमको बारेमा जानकारी गराएको छ । दमौली सभाहलमा आगामी माघ २२ गतेदेखि २६ गतेसम्म हुने उक्त महायज्ञमा भागवत गिताको महत्व र मानव जिवनमा यसले पार्ने प्रभावको बारेमा भागवत् वाचक राजयोगिनी ब्रह्माकुमारी अमृत दिदीले प्रवचन प्रदान गर्नेछिन् । उनी विगत ३० वर्षदेखि ईश्वरीय विश्व विद्यालयमा समर्पित सदस्यको रुपमा आवद्ध भई विगत २५ वर्षदेखि देश–विदेशमा विभिन्न वर्गहरुका लागि तनाव व्यवस्थापन, सकारात्मक चिन्तनको कला लगायतका दर्जनौं प्रशिक्षण प्रदान गर्दै आएकी छिन् ।

धर्मग्लानिको वर्तमान समयमा अधर्मको विनाश र सत्य सनातन देवी देवता धर्मको स्थापनार्थ ज्योतिस्वरुप परमपिता परमात्माले सम्पूर्ण मानव आत्माहरुको मनरुपी कुरुक्षेत्रमा चलिरहेको द्वन्द्वको समाधान गरी पवित्रता, सुख, शान्ति र आनन्द प्राप्तिका लागि दिनुभएको सत्य ज्ञान नै वास्तवमा श्रीमद् भगवद् गीता ज्ञान भएको महायज्ञका संयोजक ब्रह्माकुमार शिशिर रेग्मीले बताए ।
वर्तमान समयमा मानिसको व्यक्तिगत (मानसिक), पारिवारिक एवं व्यवसायिक जीवनमा आइपर्ने सर्वसमस्याहरुको समाधान छ । कर्मयोगको अद्वितीय कला सिकाउने यो शास्त्र सम्पूर्ण जाति, धर्म, वर्ग, पेशा र लिङ्गका मानवआत्माहरुको साझा, अनुकरणीय र दिव्य ज्ञानकोष हो भन्दै उनले गीतामा उल्लेख गरिएका परमात्माका महावाक्यहरु व्यावहारिक र वैज्ञानिक हुनाको कारणले मानव जीवनका हरेक पलहरुसँग यसको सान्दर्भिकता जोडिएको बताए । यो शास्त्र नै एउटा यस्तो शास्त्र हो, जुन सबै धर्मका शास्त्रहरुको आधार हो । त्यसैले यसलाई सर्वशास्त्र शिरोमणि पनि भनिने ब्रह्माकुमार रेग्मीले बताए ।


श्रीमद्भगवद् गीताको उपर्युक्त महत्व र आवश्यकतालाई मध्यनजर गर्दै यसको आध्यात्मिक रहस्योद्घाटन गरी व्यास नगरपालिका लगायत आसपासका क्षेत्रहरुमा निवास गर्नुहुने सम्पूर्ण मानवआत्माहरुलाई ज्ञान–योगले सिञ्चित गराउने उद्देश्यले निःशुल्क, निश्वार्थ र निष्काम रुपमा पाँच दिवसीय उक्त महायज्ञ कार्यक्रम आयोजना गर्न लागिएको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, दमौली शाखाकी सन्चालिका ब्रह्माकुमारी यमुनाले बताइन् । उक्त अवसरमा श्रीमद् भगवद् गीता ज्ञानको वैज्ञानिक एवं व्यावहारिक प्रवचन गरिनेछ ।

सो पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपि अधिकारीले श्रीमद्भगवद् गीताको उपर्युक्त महत्व र आवश्यकतालाई मध्यनजर गर्दै यसको आध्यात्मिक चेतना जगाउन महायज्ञ सफल हुने विश्वास व्यक्त गरे ।












