तनहुँ । माघ ८
व्यास नपा ३ स्थित व्यास वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई ‘नो पार्किङ’ लेखिएको ट्राफिक संकेत बोर्ड उपलब्ध गराएको छ । विहिबार सहकारीको कार्यालयमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष प्रदिपराज अधिकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरिक्षक प्रदिप थापालाई २५ थान ट्राफिक संकेत र ट्राफिक सचेतना सम्बन्धी तयार गरिएको स्टिकरहरु हस्तान्तरण गरे ।




उक्त कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले सहकारी संस्थाहरुले नाफा कमाउने मात्र नभई समाजिक उत्तरदायित्वको कार्यक्रमहरु पनि गर्नुपर्ने बताए । व्यास सहकारी नेपाल सरकारको सहकारी सम्बन्धि ऐन र नियमको पालना गर्दै सन्चालन भईरहेको अध्यक्ष अधिकारीले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरिक्षक प्रदिप थापाले आफुले कमाएको केही प्रतिशत सामाजिक काममा खर्च गर्नु सहकारीको स्वागतयोग्य काम भएको बताए । उनले ट्राफिक व्यवस्थापनकोलागि यो संकेत बोर्ड निकै सहयोगी हुने बताए ।

सहकारीका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, उद्यमशिल वचत तथा ऋण सहकारी संस्थाका सचिव पुर्णबहादुर विके, सहकारीको शिक्षा समितिका संयोजक बेदकुमारी काफ्ले, लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन सहकारी सचिव केशव भट्टराईले र स्वागत मन्तव्य उपाध्यक्ष त्रिभुवन श्रेष्ठले गरेका थिए ।












